ad ad

समाज


‘टकला’ को जेल यात्राले अलपत्र परेको जनकपुरको यो आयुर्वेद औषधालय भवन

‘टकला’ को जेल यात्राले अलपत्र परेको जनकपुरको यो आयुर्वेद औषधालय भवन

शैलेन्द्र महतो
पुस ५, २०७६ शनिबार १३:२६,

सहरी डिभिजन कार्यालय जनकपुरबाट धनुषाको बटेश्वर गाउँपालिका ४ स्थित आयुर्वेद अस्पतालको भवन निर्माण हुन लागेको ७ वर्ष भइसक्यो। एक वर्षमा निर्माण सक्नुपर्ने भवन ७ वर्ष हुँदा समेत अझै निर्माण सम्पन्न भएको छैन्।

तल्लो तलामा ९ र माथि ४ वटा गरी १३ कोठा भएको दुई तले भवन निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको ५ वर्ष भइसक्यो। बाँकी २० प्रतिशत काम नहुँदा चार वर्षदेखि भवन अलपत्र अवस्थामा छ। सवन समयमै निर्माण सम्पन्न नहुनुको मुख्य कारण हो जनकपुरका पूर्व सांसद सञ्जय साह ‘टकला’ जेल जानु।

सञ्जयले बुबा साधु साह सुडी प्रोप्राइटरको नाममा सञ्चालन गरेको कर्णाली विल्डर्स लेखनाथ, कास्कीले औषधालय भवन निर्माण गर्न १४ असोज २०६९ मा ठेक्का सम्झौता गरेको थियो।
सञ्जयले आफैँले सञ्चालन गरेको उक्त निर्माण कम्पनीले १४ पुस २०७० मा भवन निर्माण सक्ने गरी भ्याट बाहेक ६७ लाख ५३ हजार ५ सय १५ रुपैयाँमा ठेक्का लिएको थियो। तर, समयमै भवन निर्माण गर्न नसकेपछि पहिलो पटक १४ असार २०७१ मा एकवर्ष म्याद थप गराए। म्याद थपेको समयावधि भित्रसमेत निर्माण समपन्न गर्न सकेनन्।

त्यसपछि दोश्रो पटक पुुनः १३ असार २०७२ मा म्याद थप गराए। म्याद थप गर्दा समेत निर्माणको काम नसकिँदा भवन चार वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माणधीन भवनको संरचनामा समेत ठाउँ ठाउँमा भित्ता उप्केर, झरेर जीर्ण बन्दै गएको छ।

भवनको निर्माणको क्रममा ठेकेदार कम्पनीले झण्डै २७ लाख रकम भुक्तानी लिएको हालको संघीय योजन कार्यान्वयन इकाई कार्यालय जनकपुरले जनाएको छ।

घरनजिकै आयुर्वेद स्वास्थ्य सेवा चाँडै पाउने भनेर मक्ख स्थानीय बासिन्दा ७ वर्ष बितिसक्दा पनि भवन निर्माण सम्पन्न नभपछि निराश छन्। ‘६–७ वर्ष भइसक्यो। अहिलेसम्म निर्माण सम्पन्न भएको छैन। खै अब बन्छ कि यस्तै रहन्छ, ठेगान छैन’, स्थानीय शशिदेव रविदासले भने, ‘हामीले गाउँपालिका अध्यक्षलाई पटक पटक यस विषयमा चाँसो लिन आग्रह गरेका छौं। हेरौं अब के हुन्छ।’

स्थानीय बासिन्दाले औषधालय भवन पूर्णता दिन सम्बन्धित निकाय सहरी डिभिजन कार्यालयलाई पटक पटक गुहार गर्दा समेत कुनै चाँसो नदिएको स्थानीय रामबाबु रविदासको गुनासो छ। ‘भवनको निर्माण सम्पन्न गर्न पटक पटक सहरी डिभिजन कार्यालयमा डेलिगेसन गयौं। तर कर्मचारीहरुले यो सञ्जय साहको ठेक्का हो। उनी जेलमा छन्। अब काम अगाडि बढाउन ठेक्का नै रद्द गर्नुपर्छ।’, रविदासले भने, ‘हामीले गाउँपालिकालाई नै यो भवनलाई पूर्णता दिन आग्रह गरेका छौं। बनाउन तयार छ। तर, कर्मचारीहरु त्यसको लागि ठेक्का नतोडी गाउँपालिकालाई पनि दिन मिल्दैन भन्छन्। यस्तै जालझेलले केही पनि हुन सकेको छैन।’

पूर्व सांसद सञ्जय साह ‘टकला’

यता बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले भवनलाई पूर्णता दिन आफूले पनि सहरी डिभिजन कार्यालयमा पटक पटक पुगेर पहल गरेको बताए। गाउँपालिकालाई नै ठेक्का तोडेर जिम्मा लगाए बनाएर औषधालय सञ्चालन गर्न तयार रहेको उनको भनाइ छ।

किन बनेन भवन? यस्तो छ कारण

साविकको सहरी भवन डिभिजन कार्यालय जनकपुर र वर्तमानको संघीय योजना कार्यान्वयन इकाई कार्यालय जनकपुरले भुक्तानी नै नहुन सक्ने भएपछि आौषधालय भवनको निर्माण सम्पन्न नभएको बताएको छ। कर्णाली विल्डर्स निर्माण कम्पनीका मालिक समेत रहेका साह जनकपुर बम काण्डको आरोपमा जेल गएपछि भुक्तानीमा समस्या भएको जनाएको छ।

कार्यालयका अनुसार बैंकखाता साहको नाममा छन्। उनी जेल गएपछि त्यस बैंक खातामार्फत भुक्तानी हुन नसक्दा कम्पनीले काम नगरेको र भवन निर्माण अलपत्र परेको कार्यालये जनाएको छ। भवन निर्माणको चरणमै १८ वैशाख २०६९ मा जनकपुरस्थित रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी शक्तिशाली विस्फोट भएको थियो। बम विस्फोट काण्डमा मुख्य योजनाकारका अभियोगमा तत्कालिन सदभावना पार्टीबाट दोश्रो संविधानसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सांसद संजय साह ‘टकला’ अहिले काठमाडौंको नक्खु कारागारमा जन्मकैदको भुक्तान गरिरहेका छन्।

उनी बम काण्डको आरोपमा पक्राउ परेपछि सरकारले उनको सम्पतिमाथि समेत रोक लगाए थियो। साहमाथि जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्याकाण्डको पनि मुख्य योजनाकार रहेको अभियोग छ। राजनीतिमा आउनु अघिदेखि नै साह निर्माण व्यवसायी थिए। उनी संविधानसभाको पहिलो निर्वाचनमा फोरमबाट धनुषा क्षेत्र नं. ४ बाटै निर्वाचित हुँदा राज्यमन्त्री समेत बनेका थिए।

अब के हुन्छ?

संघीय योजन कार्यान्वयन इकाई कार्यालय जनकपुरले औषधालय भवन निर्माणको अलपत्र कामलाई अघि बढाउने बताएको छ। साइड इन्जिनियर लक्ष्मण यादवले पहिलेका ठेकेदार कम्पनीले काम सम्पन्न नगरेको कारण अब ठेक्का रद्द गरेर अघि बढ्ने बताए। ‘पहिलेका ठेकेदार कम्पनीले झण्डै ८० प्रतिशत काम सम्पन्न गरिसकेको छ। पटक पटक ताकेता गर्दा पनि २० प्रतिशत काम गरेन। पहिलेकै कम्पनीले काम गर्न सक्दैन। अर्को कम्पनीलाई नै ठेक्का दिनुपर्छ। त्यसका लागि पहिलाको ठेक्का रद्द गर्नुपर्छ। अब हामी त्यसै अनुसार अघि बढ्छौं’, साइड इन्जिनियर यादवले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .