ad ad

समाज


वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा कर्मचारीले तलब पाएनन्

वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा कर्मचारीले तलब पाएनन्

नेपालखबर
पुस ५, २०७६ शनिबार ६:५०,

वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा जिल्लाका स्थानीय तहका कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन्।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सशर्त अनुदान रकमको दोस्रो चौमासिकको निकासा नहुँदा कर्मचारीले कात्तिक र म‌ंसिरको तलब पाउन नसकेका हुन्।

रकम फुकुवाको निर्णय महालेखा नियन्त्रण कार्यालयले गर्ने भए पनि अहिलेसम्म रकम फुकुवा हुन नसक्दा कर्मचारीले तलब पाउन नसकेको शुक्लाफाँटा नगरपालिका कार्यालयका लेखापाल महेशदत्त जोशीले बताए। उनका अनुसार सर्शत अनुदानअन्तर्गत तलब पाउनेमा विद्यालयका शिक्षक, कर्मचारी, बालविकासका सहजकर्ता, नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी, आयुर्वेद औषालयका कर्मचारीलगायत छन्।

‘वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन्’, उनले भने, ‘विद्यालयको विभिन्न शीर्षकको अनुदान र स्वास्थ्य शाखाअन्तर्गतका कार्यक्रमसमेत प्रभावित भएका छन्।’ जिल्लाका विद्यालयका शिक्षक, कर्मचारी र स्वास्थ्यतर्फका कर्मचारीले तलब पाएका छैनन्।

योजना प्रभावकारी बनाउन पदाधिकारीलाई तालिम

योजनालाई पारदर्शीरूपमा सञ्चालन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले उपभोक्ता समितिका पदाधिकारी र जनप्रतिनिधिका लागि योजना सञ्चालनसम्बन्धी तालीम सञ्चालन गरेको छ। योजनालाई प्रभावकारी बनाउनका लागि वडाका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीका लागि तालीम सञ्चालन गरेको हो।

तालिममा योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन प्रक्रिया, योजना कार्यान्वयन, सम्झौता, फरफारकका लागि आवश्यक कागजातको व्यवस्था गर्ने, योजनाको आपनत्वसम्बन्धी कुरा सिकाइन थालेको नगरपालिकाका लेखापाल जोशीले बताए। तालिमको व्यवस्था नहुँदा उपभोक्ता समितिका पदाधिकारी योजनाको किताबमात्रै ल्याएर आउन थालेपछि योजना फरफारक गर्न निकै कठिन हुन थालेको उनको भनाइ छ।

तालिमपश्चात योजना कार्यान्वयनसँगै लेखा राख्न र योजना निर्माणको कार्य पूरा भएपछि रकम भुक्तानी गर्न सजिलो हुने उनले बताए। योजना कार्यान्वयनसँगै पदाधिकारीलाई सम्झौताका प्रक्रिया, प्राविधिक लागत अनुमान, योजना फछ्र्यौट र प्रशासनिककार्यबारे जानकारी दिइन थालेको छ । चार÷चार वडाका पदाधिकारीलाई तीन समूहमा बाँडेर तालिम दिन थालिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .