बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाले समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेका छन्।
नेपाल पत्रकार महासंघ धादिङ शाखाका कार्यसमिति सदस्य तथा ग्यालेक्सी फोर के टेलिभिजनका सम्वादाता विकास रौनियारलाई डीएसपी सापकोटाले समाचार संकलनका क्रममा गालीगलौज गरेको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघ धादिङ शाखाका अनुसार कात्तिक २३ गते बुधबार रामनगरस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा पुगेका पत्रकार रौनियारलाई समाचारका लागि तथ्यांक र भिजुयल बाइट माग गर्दा प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सापकोटाले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए।
‘नागरिकलाई सुसूचित र सचेत गराउने कार्यमा जुटेका पत्रकारलाई संविधानले सुनिश्चित गरेको अधिकारको माग गर्दा एउटा जिम्मेवार अधिकारीबाट यस किसिमको व्यवहार हुनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले विज्ञप्ति प्रकाशित गरी भनेका छन्।
विज्ञप्तिमा महासंघले पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने यो घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरेर पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
Shares
प्रतिक्रिया