ad ad

समाज


दसैँमा पिङको आकर्षण घट्यो

दसैँमा पिङको आकर्षण घट्यो

नेपालखबर
असोज १५, २०७९ शनिबार २२:२०, काठमाडौँ

नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ। तर केही वर्षयतादेखि सिन्धुपाल्चोकका गाउँघरमा पिङ कमै देख्न पाइन्छ।

विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ।

नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ। 

वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दसैँलाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भए पनि त्यस स्थानमा पुगेर खेल्नेको सङ्ख्या भने धेरै रहेको ज्यामिरेका कृष्णबहादुर कार्कीले बताए। दसैँमा पिङ खेल्न पाइएन भने मज्जा नै नआउने उनी बताउँछन्। 

कृष्णबहादुरजस्तै पिङ खेलेर मज्जा लिनेहरू गाउँमा धेरै भए पनि पिङ भने कमैमात्र देखिन थालेका छन्।

आफ्नो परम्परा र दसैँलाई खुशीसाथ मनाउनका लागि पिङको ठूलो महत्व रहेको मेलम्ची नगरपालिका–९ का वडाध्यक्ष किरणदीप खड्काले बताए। तर विगतका वर्षमा भन्दा पिङको सङ्ख्या घटेकामा उनी चिन्तित छन्।

केही वर्ष अघिसम्म टोल र गाउँभरिका बासिन्दा जम्मा भएर दोहोरी गीत गाउँदै रातभर जाग्राम बसेर पिङ खेल्ने गरेको ज्यामिरेकै भीमसेन विष्ट बताउँछन्। रातभर जाग्राम बसेर पिङ खेल्दा छुट्टै मज्जा हुने गरेको बताउँदै विष्ट अहिले गाउँघरमा पिङ विरलै देख्न पाइएको बताउँछन्।

पहिला–पहिला पिङ खेलेर रमाइलो गर्दै दसैँ मनाउनेहरू अहिले तास, लङ्गुरबुर्जालगायत खेलेर समय कटाउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .