बुटवलका रामु गौतम झण्डै ५ महिनाअघि जापान आइपुगे– राम्रो पढाइ र कामको खोजीमा। तर, उनी जे सोचेर आएका थिए, त्यस्तो भएन।
कन्सल्टेन्सी छान्न नजान्दा आफू समस्यामा परेको उनको भनाइ छ। पहिले चिल्लो कुरा गर्ने, विद्यार्थी आकर्षित गर्ने अनि नेपालबाट उडाएपछि जिम्मेवारीबाट उम्किने गर्दा रहेछन् कन्सल्टेन्सीहरु।
उनलाई पनि भनिएको थियो, ‘पढाइ राम्रो छ। काम सजिलोसँग पाइन्छ। पुगेको एक हप्तामै काम पाइन्छ, महिनामा लाखौं कमाउन सकिन्छ।’
विद्यार्थीलाई आउनुअघि यहाँका नीतिनियम सिकाइँदैन। आवश्यक सुझाव दिइँदैन। त्यसैको सिकार बने उनी पनि।
जापान आउन उनले करिब १६ लाख खर्च गरेका थिए। तर, जापान आइपुगेपछि थाहा भयो, कालोसूचीमा परेको भाषा स्कुलमा भर्ना भएका रहेछन्।
जापानको फुकुओका सहरमा रहेको निसिनिहोन इन्टरनेसनल एजुकेसन एकेडेमी नामक जापानी भाषा विद्यालय अहिले बन्द हुने अवस्थामा छ। यहीँ कुराले उनी चिन्तामा परेका छन्।
सो स्कुलले गत वर्ष एक विद्यार्थीलाई बाँधेर राखेको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएको छ। गत वर्ष अक्टोबरमा सो विद्यालयमा कर्मचारीको रुपमा काम गर्ने एक व्यक्तिले २० वर्षका भियतनामीलाई आफ्नो पेटी र धातुको साङ्लोले बाँधेर केही घन्टासम्म थुनेर राखेका थिए।
सो घटना भएको भोलिपल्टबाट अन्य कर्मचारीहरुले पनि त्यस्तै खालको व्यवहार दोहोर्याएको पुष्टि भएको छ। ती विद्यार्थी र विद्यालयबीच विद्यालय स्थानान्तरणको विषयमा विवाद भएको बताइएको छ। आफूमाथि लागेको आरोप विद्यालयले स्वीकार पनि गरेको छ।
सो घटनाले जापानमा अध्ययनरत विदेशी विद्यार्थीको मानव अधिकार गम्भीर रुपमा हनन भएको ठहर गरेर विद्यालयको सम्बन्धन खारेज गरिएको छ।
प्राप्त जानकारीअनुसार विद्यालय बन्द गर्ने निर्णयले सो विद्यालयमा अध्ययरत नेपाली विद्यार्थीको भविष्यमा गम्भीर असर पर्ने जनाइएको छ।
रामु मात्र होइन, त्यहाँ अध्ययन गरिरहेका कयौँ नेपाली विद्यार्थी तनावमा छन्। उक्त विद्यालयमा कम्तीमा ५ सय नेपाली विद्यार्थी अध्ययन गरिरहेको उनको भनाइ छ।
कालोसूचीमा परेको स्कुल भएकै कारण अनेकौँ समस्या बेहोर्नुपरेको थियो। स्कुलले काम खोजिएको थिएन। आफैँले कोसिस गरे पनि समयमै काम पाइएको थिएन। कालोसूचीमा परेको स्कुल भन्दै कम्पनीहरुले काम दिन अस्वीकार गरेका थिए।
कलेजले खोजिदिएको होस्टेलको बसाइ निकै कठिनाइयुक्त थियो। २ जना बस्ने कोठामा ३ जना राखियो।
‘कति दिन त एक छाक मात्रै खाएर पनि दिन बितायौँ,’ उनले भने।
यसैबीच टोकियोस्थित नेपाली दूतवासले सो विद्यालयको समाचार सुनेको र विद्यार्थीबारे आवश्यक कदम चाल्ने बताएको उनले समाचारमा त पढेका छन्। तर के हुन्छ भन्नेमा ढुक्क भने छैनन्।
अहिले विद्यालयले तत्कालै के गर्ने भनेर निर्णय त गरेको छैन। उनीहरू स्कुलमै गएर पढिरहेका छन्।
विद्यार्थीलाई अन्य भाषा विद्यालयमा सारे अथवा चाँडै निर्णय गरे ढुक्क हुने उनले बताए।
Shares
प्रतिक्रिया