बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ। यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेसी स्थगन भएको थियो।
तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेसी तोकिएको जानकारी दिए। नायक शाहविरुद्ध नवलपुर अदालतले मङ्गलबार साढे २ वर्ष कैद फैसला सुनाएको छ।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद फैसला सुनाएको हो। साथै रु २५ हजार जरिवाना र रु दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए।
जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ। शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो।
नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो। शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो।
नवलपुरको फैसलाविरुद्ध पुनरावेदनको तयारी
नवलपुर अदालतको फैसलाविरुद्ध नायक शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिने भएका छन्। अदालतको पूर्ण पाठ आउनेबित्तिकै पुनरवलोकनको जाहेरी दर्ता गर्ने तयारी गरिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए। रासस
Shares
प्रतिक्रिया