विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा भर्ना हुन आएका १७ सय विद्यार्थी यस पटक भर्ना हुन पाएनन्। विराटनगरकै आदर्श माविमा पनि यसैवर्ष मात्रै १५ सय हाराहारी विद्यार्थी प्रवेश परीक्षामा सामेल भए। तर उनीहरुले पनि पढ्न पाएनन्।
सत्यनारायण माविले पनि भर्ना हुन आए जति विद्यार्थीलाई लिन सकेन। विराटनगरका सामुदायिक विद्यालयहरुले भौतिक पूर्वाधारको अभावमा ती विद्यार्थीलाई भर्ना लिन नसकेको हो।
विराटनगरका पोखरिया, आदर्श, सत्यनारायण लगायतका विद्यालयका प्रधानाध्यापकहरु विद्यार्थी भर्नाको चापका कारण फोन समेत उठाउन नसक्ने अवस्थामा छन्।
विद्यार्थी नअटाएको आदर्श माविबाट तीन सय मिटरको दुरीमा छ, महेन्द्र रात्रि मावि। जुन विद्यालयमा अहिले १७४ जना विद्यार्थी छन्। कक्षाकोठाहरु खाली छन्। राति पढाइ हुने सो विद्यालयमा दिउँसो त विद्यार्थी नै आउँदैनन्।
त्यसैले आदर्श माविले महेन्द्र रात्रि विद्यालयको भवन र खाली कक्षा उपयोग गर्ने योजना बनायो। र विराटनगर महानगरपालिका शिक्षा महाशाखालाई समन्वय गरिदिन भन्यो। तर महाशाखाले समन्वय गर्न सकेन।
अनुमति नपाएपछि आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यार्थी भर्ना गर्न सकेनन्।
पोखरिया माविले दुई वर्षअघि नै नजिकै रहेको जनता नमुना विद्यालयको भौतिक पूर्वाधार प्रयोग गरेर विद्यार्थी भर्नाको संख्या बढाउन खोजेको थियो।
विद्यार्थी भर्ना गर्ने र आफैँले व्यवस्थापन हेरेर जनता नमुना विद्यालयको कक्षा कोठामा विद्यार्थी पढाउने।
यसो हुँदा विद्यालयमा बढेको चाप पनि कम हुने र निजी विद्यालयमा पढ्ने विद्यार्थी पनि सामुदायिकमा आउने वातावरण बनाउने प्रधानाध्यापक खेमराज भट्टराईको योजना थियो।
‘सबै व्यवस्थापन हामी आफैँ गर्छौँ, खाली रहेको कक्षाकोठा मात्रै उपयोग गर्ने व्यवस्था मिलाइदिनुस् भन्यौँ तर महाशाखाले सकेन,’ भट्टराईले भने, ‘महानगरले समन्वय नगरेपछि कक्षा कोठाको अभावमा भर्ना हुन आएका विद्यार्थी फिर्ता पठाइरहेका छौँ।’
विराटनगरका आदर्श, पोखरिया, सत्यनारायण, गोग्राहलगायतका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थामिनसक्नु छ। कहलिएका निजी विद्यालयबाट निकालेर अभिभावकहरु आफ्ना सन्तानलाई यी विद्यालयमा भर्ना गर्न खोज्छन्। तर, महानगरले पूर्वाधारको व्यवस्थापन गर्न सकेको छैन।
‘हामीले पढाउन नसकेपछि विद्यार्थी फेरि निजीमै गइरहेका छन्,’ आदर्शका प्रधानाध्यापक पोखरेल भन्छन्।
पोखरियाका प्रधानाध्यापक खेमराज भट्टराईले कक्षाकोठाको व्यवस्था भए शिक्षकको समस्या नहुने बताए।
‘विराटनगरका महँगो विद्यालयमा अध्ययन गरिरहेका बालबालिका लिएर भर्ना गर्न अभिभावकहरु हामीकहाँ आउनु हुन्छ। कक्षाकोठा भएको भए उहाँहरुले खुसीसाथ गरेको सहयोगले पनि हामी शिक्षक राखेर कक्षा चलाउन सक्छौँ,’ उनले भने, ‘तर सरकारले खाली कक्षाकोठा समेत हामीलाई उपलब्ध गराउन सकेको छैन।’
खेमराजको तर्कमा सन्तोष पनि सही थप्छन्– ‘हामी शिक्षक त जसोतसो व्यवस्थापन गर्छौँ, कोठा नै भएन।’
जिल्ला शिक्षा समन्वय इकाइ कार्यालय मोरङका प्रमुख टंक गौतमले सरकारी नीतिका कारण नै ‘बिग स्कुल’को आधारणामा जान नसकिएको बताए।
‘राम्रा विद्यालयमा सबैले छोराछोरी पढाउन चाहन्छन्। तिनै राम्रा विद्यालयको व्यवस्थापनमा र नेतृत्वमा अन्य स्कुलमा पनि विद्यार्थी पढाउन सकिए निजीमा जाने विद्यार्थी रोकिन्थे,’ उनले भने।
विराटनगर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडा एक विद्यालयको भौतिक पूर्वाधार अर्कोलाई उपयोग गर्न दिन सरकारी नीतिले छेकेको बताए।
ग्रामीण क्षेत्रमा पनि कोठाको अभाव
मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा यस वर्ष करिब २ हजार विद्यार्थी भर्ना भइसकेका छन्।
२ वर्ष पहिलासम्म हजार विद्यार्थी कटाउन मुस्किल पर्ने विद्यालयमा अहिले भर्ना समय नसकिँदै विद्यार्थीको चाप धान्न नसक्ने भइसकेको प्रधानाध्यापक अशोक लुइँटेलले बताए।
‘केही वर्ष अघिसम्म विद्यालयमा भर्ना गर्न विद्यार्थी खोज्नु पथ्र्यो तर अहिले २ हजार विद्यार्थी भर्ना भएपछि भर्ना बन्द गरिएको छ,’ उनले भने, ‘यसको कारण भनेको सेक्सन बढाउँदा शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी हुनु नै हो।’
यो सरकारले नमुना विद्यालय भनेको स्कुल हो। स्कुलमा शिक्षाको गुणस्तरमा सुधार हुन थालेपछि विद्यार्थीको चाप बढ्दै गएको लुइँटेलको भनाइ छ। सहरका केही विद्यालयहरुबाट सुरु भएको शैक्षिक गुणस्तर सुधारको अभियान अहिले ग्रामीण क्षेत्रमा पनि पुगेको छ।
आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेलले सामुदायिक विद्यालयप्रतिको मोह जगाउन समुदायको मानसिकतामा परिवर्तन ल्याउन सक्नु पर्ने बताए।
‘सुरुमा अंग्रेजी माध्यममा पढाइ थाल्दा विद्यालय भर्ना फरक गर्नु परेको, कम्पाउन्ड छुट्टै, गेट छुट्टै, डे«स छुट्टै गरेर सुरु गर्ने अबस्था थियो,’ उनले भने, ‘अहिले अंग्रेजी र नेपाली माध्यमको पढाइ भनेर कसैले पत्तोसम्म पाउँदैन।’
पहिलेजस्तो अंग्रेजी र नेपाली माध्यम भनेर चर्चा नै हुन छाडेको उनको भनाइ छ।
पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईले अहिले अभिभावकको रोजाइ अंग्रेजी माध्यम बन्दा विद्यार्थी भर्ना गराउन समेत सकस हुने गरेको सुनाए।
नेपाल शिक्षक महासंघका अध्यक्ष बेदुकुमार खतिवडा र सचिव डेक बाँस्तोलाले सबैको साथका कारण सामुदायिक विद्यालय राम्रो बन्दै गएको बताए।
Shares
प्रतिक्रिया