नेपाली सेनाले चुनावको १० दिन पहिलेबाटै उपत्यकाबाहिर तीन ठाउँमा हेलिकोप्टरसहितको टोली तयारी अवस्थामा राख्ने भएको छ। चुनावमा हुन सक्ने सुरक्षा खतरालाई मध्यनजर गर्दै सेनाले पूर्वी कमान्डको इटहरी, मध्य कमान्डको पोखरा र पश्चिम कमान्डको सुर्खेतमा हेलिकोप्टरसहितको टोली ‘स्ट्यान्डबाइ’ राख्ने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। यसबाहेक सैनिक मुख्यालयमा हवाई गस्तीसहितको थप टोली रहनेछ।
सरकारले हरेक मतदान केन्द्रमा बढीमा ३० मिनेटमा पुग्ने गरी सेनालाई तयार रहन कार्यादेश दिएपछि सोहीअनुसार सेनाले तयारी गरेको हो।
सरकारले स्थानीय तहको निर्वाचनमा नेपाली सेना पनि खटाउने निर्णय गरेको छ। राष्ट्रपतिले सेना परिचालनको आदेश जारी गरेको भोलिपल्ट वैशाख १ गतेबाट सेना चुनावी सुरक्षामा परिचालन भइसकेको प्रवक्ता सिलवालले बताए।
नेपाली सेनाले मतपत्रलगायत निर्वाचन सामग्रीको सुरक्षा जिम्मा पाएको छ। यस्तै निर्वाचनका सामग्री ढुवानीमा पनि सैनिक परिचालन गरिएको छ। मतपत्र ढुवानीको काम सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले नै काठमाडौँबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मत पत्रसहितका सामग्री लैजाने भए पनि यसको सुरक्षामा सेना परिचालन हुनेछन्। कतिपय स्थानमा सेनाको हेलिकोप्टरमा नै निर्वाचन सामग्री ढुवानी गरिने छ। यस्तै बिकट ठाउँमा पनि हेलिकप्टर मार्फत नै निर्वाचन सामग्री लगिनेछ। मतपत्र छपाइ भइरहेका स्थानको सुरक्षा पनि सेनाले गरिरहेको छ।
जिल्लाबाट पालिकासम्म मत पत्र लैजाने र त्यसको सुरक्षा पनि सेनाले नै गर्नेछ।
‘नेपाली सेना ब्यारेकबाट चुनाव केन्द्रित अप्रेसनका लागि निस्किसकेको छ। जुन दिन राष्ट्रपतिबाट सेना परिचालनको आदेश भयो त्यसको भोलिपल्टबाटै सेना परिचालन भइसकेको छ। एकीकृत सुरक्षा योजनाअनुसार हामीलाई दिइएको जिम्मेवारीमा हामी लागिसकेका छौँ,’ प्रवक्ता सिलवालले भने, ‘त्यसअन्तर्गत एरिया डोमिनेसन, सूचना संकलन, मतदानस्थलहरुको रेकी, अरु बन्दोबस्तीका कार्य, सचेतनाजस्ता कुरामा सेनाले देशैभरी काम गरिरहेको छ।’
मतदानको दिन हरेक मतदान केन्द्रमा बढीमा ३० मिनेटको समयमा पुग्नेगरी फौज तैनाथ रहन सेनालाई कार्यदेश छ।
‘माध्यम जे केही पनि हुन सक्छ। पैदल, गाडी वा हेलीकोप्टर। हामी त्यही अनुसारको तयारी गरिरहेका छौँ। सकेसम्म हवाई साधन कम प्रयोग गर्नु परोस् भनेर योजना बनाएका छौँ,’ सहायक रथी सिलवालले भने, ‘त्यो दिनको तैनाथी, गस्ती र सवारी साधनको व्यवस्थामा त्यही अनुसारको पूर्व तयारी हुन्छ।’
जहाँ पैदल र स्थलगत सवारी साधनबाट सम्भव छैन, ती ठाउँलाई लक्षित गरेर सेनाले हवाई साधनसहितको फौज तम्तयार राख्ने भएको हो।
चुनावलाई लक्षित गर्दै अस्थायी शिविर स्थापना
नेपाली सेनाले चुनावलाई लक्षित गर्दै कतिपय स्थानमा अस्थायी शिविर पनि स्थापना गरिरहेको छ। जिल्लामा रहेका गण÷गुल्मबाट समेट्न नसकिने स्थानमा कम्पनी अपरेटिङ बेस (सीओबी) स्थापना गर्ने भएको हो।
कहाँ कति गर्ने भन्ने आवश्यकताका आधारमा कमान्ड हेडक्वार्टरसँग समन्वय भइरहेको सेनाले जनाएको छ। ती अस्थायी युनिटमा जिल्लाबाहिरको टोली जानेछ।
एकीकृत सुरक्षा योजना तयार गर्दा करिब २ हजार ९ सय मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रको रुपमा हेरिएको थियो। तर चुनावी गतिविधि बढेसँगै कतिपय स्थान थपघट भएका छन्।
यसअघि अति संवेदनशील भनिएका स्थान सामान्य देखिएको र सामान्य देखिएको भनिएका स्थान अति संवेदनशिल भएको सुरक्षा निकायको ब्रिफिङ छ। चुनाव हुने दिनसम्म पनि सुरक्षा अवस्थामा परिवर्तन हुन सक्ने भएकाले सुरक्षा निकायले त्यही अनुसारको तयारी गर्ने भएका हुन्।
साथमै बम डिस्पोजल टोली
सेनाले सबै मतदान केन्द्रलाई कभर गर्ने गरी सुरक्षा योजना बनाएको छ। ती सबै टोलीमा बम डिस्पोजलको जनशक्ति पनि रहने भएका छन्। खबर पुगेको ३० मिनेटभित्रमा बम डिस्पोजल टोली पनि घटनास्थल पुग्ने भएको छ।
आफ्नो जनशक्तिलाई सम्भावित घटना र त्यसमा कसरी परिचालन हुने भन्ने प्रशिक्षण सेनाले गरिसकेको छ।
‘निर्वाचनमा परिचालन हुँदा थाहा पाउनुपर्ने जानकारी गराइसकिएको छ। आवश्यक परे शक्ति प्रयोग कसरी गर्ने भन्ने पनि हाम्रो टोलीलाई प्रशिक्षण भइसकेको छ,’ सिलवालले भने।
गत आइतबार सैनिक मुख्यालय जंगी अड्डामा सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसरी समन्वय गरेर काम गर्ने भन्ने छलफल गरेको थियो।
कारागार र विमानस्थलका प्रहरीलाई प्रतिस्थापन गरिँदै
अहिले नेपाली सेनाले देशका ३४ वटा कारागारको सुरक्षा जिम्मा लिइरहेको छ। चुनावअघि नै बाँकी कारागारको पनि सुरक्षा जिम्मा नेपाली सेनाले लिनेछ। कारागारबाट कैदीबन्दीलाई अदालतमा उपस्थित गराउने लगायत अत्यावश्यक जनशक्ति मात्रै राखेर बाँकी प्रहरीलाई निर्वाचन सुरक्षामा खटाइने भएको हो।
त्यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा सेनाले आवश्यक प्रक्रिया गरिरहेको प्रवक्ता सिलवालले बताए।
‘देशभरका विमानस्थल र कारागारका प्रहरीलाई रिप्लेस गर्ने काम भइरहेको छ, हाम्रो जनशक्तिले प्रक्रिया पुर्याएर जिम्मेवारी बुझिरहेको छ, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सेनाले कहाँ कहिले खटिने भन्ने निर्णय लिन्छ,’ सिलवालले भने।
त्यहाँ खटिएको जनशक्ति कति टाढा पठाउने हो, त्यही अनुसार सेनाले कहिलेबाट पुरै जिम्मेवारी लिने भन्ने निर्णय हुनेछ। विमानस्थलमा पनि आवश्यक जाँचका लागि मात्रै प्रहरी राखेर बाँकीलाई निर्वाचनमा परिचालन गरिने छ। यहाँको पनि सुरक्षा जिम्मा चुनावअवधिभर नेपाली सेनाको हुनेछ।
यसअघि कोभिड महामारीका कारण प्रहरी संक्रमित भएपछि ३४ वटा कारागारमा भने नेपाली सेनाले सुरक्षा दिइरहेको थियो। अहिले पनि ती कारागारमा नेपाली सेना नै छ।
Shares
प्रतिक्रिया