‘बडे मालिकले बसाएर गएँ, छोटे मालिकले उठिबास लगाउन खोज्दैछन्,’ हरैयाका ७५ बर्षीय रामबिलास मुसहर भन्छन्, ‘बाउबाजेले जंगल फँडानी गर्नुभयो। बस्ती बसाल्नु भयो। अहिले हामीलाई यहाँबाट भगाउन खोज्दैछन्। हामी गरिबलाई दिनरात मालिककै डर छ।’
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ हरैयामा पुस्तौँदेखि मुसहर समुदाय बस्दै आएका छन्। तर, सधैँ घर भत्किाइदिने मालिकको धम्कीले १७ परिवार मुसहरह त्रासमा बाँचिरहेका छन्।
करीब साँढे तीन कठ्ठा क्षेत्रफलमा १७ परिवारको झुपडी छ। दुई पुस्ता पहिले स्थानीय जामुन सिंहले मुसहरलाई खेतालाको रुपमा त्यहाँ बसाएका थिए। सिंहले उनीहरुलाई बस्नलाई जंगल भएकै जग्गा दिएका थिए।
मुसहरहरुले त्यहीँ घर बनाए, बसोबास सुरु गरे। बडेमालिक मरेर गए। तर, अहिले जग्गा हाम्रो हो भन्दै उनका सन्तानले मुसहरलाई उठिबास लगाइदिने धम्की दिन थालेका छन्।
जामुनका छोरा दराल र खट्टर सिंहले आफ्नो खेतबारीमा मुसहरलाई मजदुरी गराए। दराल र खट्टरका छोरा गुदर, राजे बलदेव र श्रीदेवले पनि गरिब मुसहरको काम खाइरहेका छन्।
मंहंगीले आकाश छोयो। तर, मुसहरको ज्याल ज्यूँका त्यूँ छ । ‘अन्त गएर एक दिन काम गरे पाँच सय ज्याला पाइन्छ,’ बस्तीकी ४० बर्षीय सनेचरी सादाले भनिन्, ‘तर, मालिकका छोरा, नातीले धम्काएर हामीलाई दैनिक २ सय रुपैयाँमा काम लगाउँदै आएका छन्। रुपैयाँ नदिए ७ किलो अन्न दिएर काम खान्छन्।’
ज्याला थोरै भयो भन्दा धम्की दिने गरेको गुनासो उनले गरिन्। ‘धेरै बोले घर भित्काइदिन्छु, लखेटेर भगाउँछाँै भन्दै मालिकहरुले हामीलाई त्रासमा राखेका छन्,’ उनले गुनासो गरिन्।
श्रम अनुसारको ज्याला नदिएर छोटे मालिकले मुसहरको श्रम शोषण गर्दै आइरहे पनि उनीहरुको पक्षमा बोलिदिने कोही छैनन्।
छोटे मालिककोमा नगएर अरुकैमा काम गर्न गए धाकधम्की र गाली बेइजती हुने गरेको स्थानीय चन्द्रकला सदाले दुखेसो पोखिन्।
बसोबास गरिरहेको जग्गामा मुसहरले नयाँ घर बनाउन पाउँदैनन्।
‘त्यहि जग्गाकै आडमा पहिले बडे मालिकहरुले धाकधम्की दिँदै हाम्रा बुवाबाजेलाई जीवनभर काम लगाए। अहिले छोटे मालिक पनि हामीलाई त्यसै गरिरहेका छन्,’ बस्तीकी अर्की महिला फुलोदेवी सदाले भनिन्, ‘अहिले हाम्रो परिवार बढ्यो। एउटा घरमा बस्न पुग्दैन, नयाँ घर बनाउँन छोटे मालिकले दिँदैनन्। ठुलो परिवार साँघुरिएर जसोतसो बस्दै आएका छौँ।’
मुसहरका घर वरिपरी बडे मालिकका छोरा दराल सिंह र खट्टर सिंहको जग्गा छ। उनीहरुका पनि छोराहरु गुदर, राजे, बल्देव र श्रीदेवको जग्गा पनि मुसहर बस्ती नजिकै छ।
उनीहरुको जग्गाको बीचमा रहेको साँढे ३ कठा जग्गामा मुसहरका १७ घर छन्।
‘चारैतिर मालिकहरुकै जग्गा छ। कसैको खेतबारीमा बालबच्चा वा खसी बाख्र गए मालिकको भनाई र कुटाइ खानुपर्छ’ रीता सदाले गुनासो गरिन्।
धनुषा जिल्ला मात्रै होइन्, पूरै नेपाल नै गएको १३ असोबाट खुल्ला दिसा मुक्त घोषित भइसक्यो।
तर, हरैयाका मुसहरहरुको घरमा शौचालय छैन। मालिकले बसोबास गरेको ठाउँमा शौचालय बनाउन दिदैंनन्। मुसहरको घरमा चर्पी बनाउन ल्याएको सरसमान त्यसै थन्किएको छ।
उनीहरुले खुल्ला स्थानमै दिसापिसाब गर्दै आएका छन्।
बसोबास गर्दै आएको जग्गाको लालपूर्जा दिलाईदिन उनीहरुले लामो समयदेखि सरकारसँग माग गर्दै आएका छन्। तर, सुनुवाइ भएको छैन।
बस्तीका सुरेश सादा भन्छन्, ‘पुर्खौंदेखि बसोबास गर्दै आएको जग्गाको सरकारले हामीलाई लालपुर्जा दिए यसरी अन्याय सहेर बस्नुपर्ने थिएन।’
प्रतिक्रिया