इटहरी २ स्थित नवजागृति टोलमा गत चैत १३ गते भएको बम विस्फोटमा संलग्न ४ जना पक्राउ परेका छन्।
विस्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका थिए। सोही, घटनामा संलग्न मुख्य योजनाकारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विष्फोटबाट कोठामा क्षति पुगेको थियो भने रविन र शेरजंग घाइते भएका थिए। उनीहरुलाई तत्काल उपचारको लागि पठाइएको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा घटनाको मुख्य योजनाकार झापाको कन्काई नगरपालिका ८ लक्ष्मीपुरका ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन्। प्रहरीका अनुसार मुख्य योजनाकार खगेन्द्र खरेल हिमाल सुरक्षा परिषद नेपालको केन्द्रीय अध्यक्ष हुन्।
प्रहरीका अनुसार खरेलले २०७६ वैशाख २८ गते झापाको कन्काई पुलमा समेत विस्फोटक पदार्थ राखेर आतंकित बनाएका थिए। सोही अपराध कसुरमा खरेल २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरि छुटेका थिए।
यस्तै, इटहरी २ की ३२ वर्षीया आशा ठकुरी भन्ने लक्ष्मीदेवी थापा (ठकुरी), उनका छोरा २२ वर्षीय रविन थापा र लमजुङको ढोडेनी गाउँपालिका ७ स्थायी घर भएका २३ वर्षीय शेरजंग गुरुङ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई बम विस्फोटन र संगठित अपराध मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्यको पनि प्रहरीले खोजी गरिरहेको छ।
Shares
प्रतिक्रिया