एक जना प्रहरीको ज्यान जानेगरी तनाव भएको लेटाङ नगरपालिका ५ खेरुवामा जारी कर्फ्यू आदेश खुकुलो बनाइएको छ।
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि लेटाङमा हिंसात्मक प्रदर्शन भएको थियो। आइतबारको सो घटनापछि खेरुवामा कर्फ्यू लागू छ।
त्यसक्रममा जिल्ला प्रशासन कार्यालयले सोमबार र मंगलबार पूर्ण रूपमा कर्फ्यू आदेश लगाएको थियो।
कर्फ्यूका कारण जनजीवन ठप्प भएपछि बुधबारदेखि भने प्रशासनले कर्फ्यूलाई आंशिक खुल्ला गर्ने भएको छ। मंगलबार साँझ एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले दिउसो १० बजे देखि ४ बजे सम्म र बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ।
मंगलबार दिउसो लेटाङ नगरपालिकामा बसेको सर्वदलीय बैठकले पूर्ण कर्फ्यूले जनजीवन झन् आतंकित भएको जनाउँदै प्रशासनलाई कर्फ्यू आदेशलाई खुकुलो बनाउन माग गरेको थियो।
‘सोमबारदेखि आज (मंगलबार) सम्मको अवस्था हेर्दा लेटाङ धेरै शान्त बनेको छ’ लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले भनिन्, ‘त्यही अनुसार जनजीवन सामान्य बनाउन प्रशासन समक्ष अनुरोध गरेका थियौँ।’
Shares
प्रतिक्रिया