सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट) को बैठक बोलाइएको छ।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाको निर्देशनबमोजिम सहकुलपति तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले उपकुलपति ज्ञानेन्द्र गिरीलाई सिनेट बैठक बोलाउन लगाएका हुन्।
जसअनुसार यही चैत २० गतेका लागि सिनेट बैठक आह्वान भएको मन्त्री खतिवडाले नेपालखबरलाई जानकारी दिए। खतिवडाका अनुसार बैठक चैत २० गते बिहान साढे ११ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने तय भएको हो।
सिनेट बैठकको मुख्य एजेन्डा प्रतिष्ठानका पदाधिकारीका विषयमा छानबिन गर्न स्वास्थ्यमन्त्री तथा सहकुलपति खतिवडाको संयोजकत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदनमा छलफल गर्ने छ।
उक्त समितिले प्रतिवेदनमार्फत प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरिसहित शिक्षाध्यक्ष, अस्पताल निर्देशकले पदअनुसार दायित्व पूरा नगरेकाले कारबाहीका लागि सञ्चालक परिषद्समक्ष सिफारिस गर्न सुझाव दिएको छ।
‘बैठकमा धेरै विषयहरू छैनन्, हामीले छानबिन गरेर पेस गरेको प्रतिवेदनमा छलफल हुनेछ’, मन्त्री खतिवडाले नेपालखबरसँग भने, ‘अरू विषय बैठक बसेपछि मात्र थाहा हुन्छ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ (घ) को उपदफा (१) बमोजिम स्वास्थ्यमन्त्री खतिवडाको संयोजकत्वमा गत कात्तिक ५ गते ती सदस्यीय समिति गठन गरिएको हो। सोही समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका विषयमा अब सिनेट बैठकमा छलफल हुने भएको हो।
प्रतिवेदन बुझाएको केही समयपछि सरकारले उपकुलपतिसहितका पदाधिकारीको अधिकार खोसेको थियो।
सरकारले प्रतिष्ठानका कामकाज गर्न मन्त्रालयका १२औं तहका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवको नेतृत्वमा टोली पठाए पनि सर्वोच्च अदालतले तत्काल सो निर्णय लागू नगर्न आदेश दिएपछि प्रतिष्ठानका पदाधिकारी नै काममा फर्किएका छन्।
Shares
प्रतिक्रिया