म्यागासेस पुरस्कार विजेता महावीर पुनले केही वर्ष अगाडि नै घोषणा गरेका थिए–‘पुरस्कार भारी भइसक्यो, अब कसैले नदिनू। अवार्डको भारी धेरै भयो भने अगाडि बढ्न सकिँदैन।’
सम्मान र पुरस्कार नदिन सार्वजनिक आह्वान गर्ने महावीर स्वयं पुरस्कार माग्न जाने कुरै भएन । तर, गण्डकी सरकारले बुधबार प्रदेश सरकार ४ वर्ष पुगेको अवसरमा उनै महावीरलाई ‘गण्डकी रत्न’ले सम्मानित गर्ने घोषणा गरेको छ। त्यही पनि, पुरस्कारको लागि आएका आवेदनहरु अस्वीकृत गरेर।
गण्डकी मन्त्रिपरिषद्ले गएको पुस २६ गते विशिष्ठ व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्दै हरेक वर्ष ३ जनलाई सम्मान गर्ने निर्णयमात्रै गरेन, माघ ४ गते १५ दिने सूचनासहित आवेदन माग गरेको थियो।
निर्देशिकामा शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकास, विज्ञान, प्रविधि, सार्वजनिक प्रशासन तथा सुशासनलगायत क्षेत्रमा योगदान दिने व्यक्ति ‘गण्डकी रत्न’को आवेदक हुन पाउने व्यवस्था थियो।
सामान्यतयाः निस्वार्थ भावले काम गर्नेहरु पुरस्कार माग्न कसैको दैलो चहार्दैनन् । आवेदन मागेर विशिष्ठ नागरिकलाई ‘लिगलिगकोटे दौड’मा सामेल गराउने प्रदेश सरकारको निर्णय आफैँमा सही थिएन । तर, ८ जनाले भने सम्मानको लागि आवेदन दिएका थिए। निर्देशिकामा आवेदन नदिएकालाई पनि सम्मान गर्न सकिने व्यवस्था थियो।
त्यही व्यवस्थामा टेकेर गण्डकी सरकारले महावीरलाई सम्मानित गर्ने निर्णय गरेको हो। सम्मानमा तक्मासहित सार्वजनिक समारोहमा प्रदेश सांसदसरहको सुविधा दिने उल्लेख गरिएको छ । यसका साथै विमानस्थलको अति विशिष्ठ कक्षको उपयोग, निःशुल्क स्वास्थ्य सेवा तथा जीवनको उत्तरार्धमा सरकारबाट नै हेरचाहको अवसर पनि ती व्यक्तिलाई प्राप्त हुने छ।
गण्डकी रत्नबाट सम्मानित भएका महावीरले ‘गण्डकी रत्न’लाई खासै महत्व दिएका छैनन् । गण्डकी सरकारले संचालनमा ल्याएको गण्डकी विश्वविद्यालयको आविष्कार केन्द्र बनाउने अभियानमा सहकार्य गरेका उनले सम्मान पाएसँगै भने, ‘मलाई सुविधा केही चाहिँदैन, सम्मान के हो कस्तो हो भन्ने थाहा छैन । आविष्कार केन्द्रलाई दिएको भए ठीकै हो, नत्र मैले त सम्मान भन्ने कुरा चाहिन्न भनेको धेरै वर्ष पहिल्यै हो।’
आफू सम्मानको लागि काम गर्ने व्यक्ति नभएको पनि उनले प्रष्ट पारे।
उनले सम्मान घोषणाअघि प्रदेश सरकारको तर्फबाट जानकारी दिइएको र आफूले भविष्यमा राष्ट्रिय आविष्कार केन्द्रसँग काम गर्ने हो भने ठीक छ भनेको जानकारी दिए। सम्मानको घोषणाले आफूलाई कुनै अनुभूति नभएको पनि उनको भनाइ थियो।
म्याग्दीको दुर्गम गाउँ नाँगीमा जन्मेका महावीर ताररहित इन्टरनेट सेवा विस्तारको लागि प्रख्यात छन् । पछिल्लो समय उनले राष्ट्रिय आविष्कार केन्द्रको नाममा दैनिक जीवनमा प्रयोग हुने सामग्री आविष्कारमा आफ्नो समय र सामथ्र्य लगाइरहेका छन्।
अमेरिकाको नेब्रस्का विश्वविद्यालयको विज्ञान र प्रविधिमा विद्यावारिधि गरेका उनी पछिल्लो समय गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयसँग पनि जोडिएका छन् । गण्डकी विश्वविद्यालयले उनकै सहयोगम अनुसन्धान केन्द्र निर्माण गरेको छ।
महावीर बेलाबेला सामाजिक सञ्जालमा आविष्कार केन्द्रले गरेका कामहरुबारे जानकारी बाँडिरहन्छन् । केही समय अगाडि उनले सामाजिक सञ्जाल ट्विटरमा तस्वीरसहित लेखे– ‘हेर्नुहोस्, गण्डकी विश्वविद्यालयमा बनेको अनुसन्धान केन्द्रको र भर्खरै खरिद भएका ठूला मशीनहरुको फोटो। अब ती सबै मशीनहरु जडान गरेर यो केन्द्रमा काम सुरु हुनेछ । यसलाई आविष्कार केन्द्रको भाई भन्दा फरक नपर्ला किनभने यसमा गरिने कामहरु आविष्कार केन्द्र कै तरिकाले गरिने छलफल भएको छ।’
पुनका अनुसार गण्डकी विश्वविद्यालयको आविष्कार केन्द्रको भवन बनाउन ८५ लाख र मशीनहरुको लागि १ करोड ७५ खर्च भइसकेको छ। उनले यही मोडलमा अन्य ६ वटा विश्वविद्यालय र स्थानीय सरकारलाई पनि सानो केन्द्र बनाउन पनि सुझाएका छन्।
‘पोहोरदेखि नै काम गरेको हो, काम ढिलो भएको छ, तर सकिन लागेको छ’, गण्डकी विश्वविद्यालयसँगको सहकार्यबारे उनले भने, ‘एक दुई महिनाभित्र काम सकिएला।’
Shares
प्रतिक्रिया