राजधानीको मित्रनगरस्थित बसपार्कमा एकजना महिलामाथि गत पुस १३ गते भएको सामूहिक बलात्कार घटनामा संलग्न ९ सहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
प्रहरीले गत पुस १४ र १५ गते पक्राउ गरेका ९ जनासहित तीन होटल सञ्चालकमाथि पनि मुद्दा चलाउने निर्णय लिएको हो।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार तीनजना होटल सञ्चालक सहित १२ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
पक्राउ परेका ९ जना युवाहरूमध्ये एकजनालाई बलात्कार र अरु ८ जनालाई सामूहिक बलात्कारको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।
बलात्कार मुद्दामा होटल सञ्चालक मञ्जु खरेल, जानुका घिमिरे पोख्रेल र र द्रोणाचार्य पौडेल पनि जोडिएका छन्।
उनीहरुले उक्त घटनाका क्रममा सुरक्षा लापरबाही गरेको ठहर प्रहरीले गरेको छ। गिरीका अनुसार यी होटल सञ्चालकले इन्ट्री नै नगरि कोठामा मान्छे राखेको खुलेको छ।
त्यसैगरी ती महिलामाथि बलात्कार भइसकेपछि पनि उनीहरुले घटनाबारे प्रहरीलाई जानकारी नगराएको पनि गिरीले बताएका छन्। यी तीनै होटल सञ्चालकलाई पनि बलात्कारमा मतियारका रुपमा मुद्दा चलाइएको हो।
बलात्कारको घटनामा मुछिएकामध्ये मुगुको छायानाथ रारा नगरपालिका-१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल र २५ वर्षीय हस्त नेपाली रहेका छन्।
त्यस्तै यो प्रकरणमा मुगुकै छायानाथ रारा नगरपालिका-६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपाल कुमार शिरीष पनि पक्राउ परिसकेका छन्।
सुर्खेतकी महिलामाथि सामूहिक बलात्कारको घटनामा संलग्न सबै युवाहरु वैदेशिक रोजगारीमा जान काठमाडौं आएका थिए।
उनीहरुले पुस १२ मा सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी ३४ वर्षीया महिलालाई होटलमा राखेर सामूहिक बलात्कार गरेका थिए। ती महिलालाई बसपार्कका तीनवटा होटलमा लगेर बलात्कार गरिएको थियो।
Shares
प्रतिक्रिया