प्रदेश २ मा सशस्त्र प्रहरीले जाडोबाट जनता जोगाउन ठाउँठाउँमा आगो ताप्ने व्यवस्थासहित कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबारे सचेतना फैलाउने अभियान थालेको छ।
शुक्रबारदेखि सशस्त्र प्रहरीले प्रदेश २ का आठै जिल्लाका विभिन्न स्थानमा दाउरा वितरण र ओमिक्रोनविरुद्ध चेतनामूलक होर्डिङ बोर्ड राख्ने अभियान सञ्चालन गरिरहेको हो।
जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी विपन्न बस्तीहरूमा ‘घुर’ (आगो ताप्ने) व्यवस्था गर्न थालिएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए।
यसका लागि प्रदेशका ८ जिल्लास्थित सशस्त्र प्रहरीका सबै १८२ वटा युनिट परिचालन गरिएको उनले बताए।
आगो ताप्ने व्यवस्था सँगसँगै ओमिक्रोन भेरिएन्टबाट बच्न अपनाउनुपर्ने मापदण्डका विषयमा पनि जनचेतना फैलाउने काम भइरहेको उनको भनाइ छ।
एक हप्तादेखि तराईमा चिसो बढेको छ। जसका कारण विशेषगरी विपन्न, वृद्ध तथा बालबालिका बढी मारमा परिरहेका छन्।
Shares
प्रतिक्रिया