सिरहामा दुई दिनदेखि जनमत पार्टीको नेतृत्वमा भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै प्रशासनले केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गर्दै मंगलबार बिहान ५ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
पूर्वमा बलान खोला देखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उतर दक्षीण ५०० मिटर आसपासका क्षेत्रसम्म र चोहर्वा देखि सिरहा सडक खण्डको पिके राज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्व पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।
सो क्षेत्रमा सो अवधिमा भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायका क्षेत्रहरुमा निषेधाज्ञाको आदेश जारी गरिएको हो।
सो अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ जनाएको छ।
आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ।
Shares
प्रतिक्रिया