नेपाल पत्रकार महासंघ रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमको लागि विनियोजन गरेको बजेटमा व्यक्तिगत पहुँच र प्रभाव झल्केको भन्दै सच्याउन माग गरेको छ। महासंघले लोककल्याणकारी रुपमा बजेट बिनियोजन गर्नुपर्नेमा विभेद गरिएको भन्दै आपत्ति प्रकट गरेका छ।
प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा मुख्यमन्त्री र माओवादी केन्द्र निकट सञ्चार माध्यमलाई रकम उपलब्ध गराएको भन्दै आलोचना भएपछि महासंघ रुपन्देही विज्ञप्ति जारी गरी त्यसको विरोध गरेको हो।
विज्ञप्तिमा सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरी बजेट बिनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यमहरुलाई मात्रै तोकेरै बजेट विनियोजन गरिँदा सरकारको अभिभावकीय भूमिकामाथि प्रश्न उठेको उल्लेख गरिएको छ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारद्वारा जारी विज्ञप्तिमा सञ्चार सम्बन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरि समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
साथै पूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएकोप्रति आपत्ति जनाउँदै उक्त कोषको रकमलाई थप बृद्धि गर्न माग गरिएको छ।
महासंघले लुम्बिनी सरकारले संसदमा दर्ता गरेको ‘सञ्चार विधेयक’ तुरुन्त फिर्ता लिई संविधानको मर्म भावना र पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न समेत माग गरेको छ।
यो पनिः मुख्यमन्त्री र पार्टी निकट सञ्चार संस्थालाई लुम्बिनी सरकारले बाँड्यो पौने दुई करोड
Shares
प्रतिक्रिया