न्यायको माग गर्दै नेपालगञ्जबाट १९ दिन हिँडेर काठमाडौं आएर धर्नारत सलिमुन बिहाना बेहोस भएर ढलेकी छन्।
माइतीघर मण्डलमा धर्नाका क्रममा ४५ वर्षीया सलिमुन बेहोस भएर ढलेकी हुन्। नागरिक आन्दोलनका अगुवाले पनि साथ दिएको धर्नास्थलमा अहिले उनको उपचार भइरहेको छ।
सलिमुनसहित न्याय माग्दै आएका महिलाहरूमाथि शुक्रबार साँझ माइतीघर मण्डलमै प्रहरीले धरपकड गरेर पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये रुबि खान अझै प्रहरी हिरासतमै छिन्। उनीसहित पक्राउपछि रिहा भएका अन्य १६ जनाले पनि भोकहडताल गरिरहेका छन्।
हिँडेर आएकी सलिमुन बिरामी थिइन्। उनले बिरामीकै कारण खाना खानसमेत सकेकी थिइन्। सलिमुनसहित अन्य धर्नामा सहभागीहरू शारीरिक रुपमा अतिकमजोर बनेका छन्।
बाँकेको जानकी गाउँपालिका–२ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका–१९ की निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको थियो।
यी दुई महिलाको प्रकरणमा बाँके प्रहरीले गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरु १९ दिन हिँडेर काठमाडौं आएपछि थप आन्दोलित छन्।
Shares
प्रतिक्रिया