भारतीय पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीको बेलहिया नाकामा प्रहरी जवानसहित २ जना पक्राउ परेका छन्।
पशुपतिनाथ दर्शनका लागि आएका पर्यटकसँग नेपाल प्रवेश गराउने नाममा घुस लिएको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय (रुपन्देही) का प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्तालाई नियन्त्रणमा लिइएको हो।
गुजरात ट्राभल्समार्फत आइतबार भारतबाट नेपाल आएका ८ जना पर्यटकलाई सीमा बन्द भएकाले बसका कर्मचारीले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारु मागेका थिए। त्यसपछि पर्यटक ४ हजार भारु बुझाएर नेपाल प्रवेश गरेका थिए।
घुस मागेको उजुरी परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए।
Shares
प्रतिक्रिया