अस्पतालको फार्मेसीमा बील तीर्न नसक्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अलपत्र सुत्केरीको शव पाँच दिनपछि घर ल्याएर अन्त्येष्टि गरिएको छ।
सर्लाहीको हरिपुर्वा नगरपालिका ८ वसन्तपुरका रामचन्द्र माझीकी २८ वर्षीया श्रीमती पुनम माझीको गएको शनिबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।
गाउँलेले चन्दा संकलन गरेर जल्पा फार्मेसीको ८० हजार रुपैयाँ बील तिरेर पुनमको शव घरमा ल्याई बुधबार राति अन्त्येष्टि गरिएको स्थानीय राहुलराज यादवले जानकारी दिए।
उपचारको क्रममा शनिबार साँझ मृत्यु भएपछि अस्पतालको गेटमा अरविन्द्र यादवले सञ्चालन गरेको निजी जल्पा फार्मेसीले पहिला औषधिको २ लाख ५ हजार रुपैयाँ तिरेर मात्र शव उठाउन भनेका थिए। विपन्न दलित परिवार फार्मेसीको रकम तिर्न नसक्दा पुनमको शव पाँचदिन अस्पतालमै अलपत्र परेको थियो।
शव फार्मेसीले ल्याउन नदिने भनेपछि गाउँका युवा राहुलराजको नेतृत्वमा ८० हजार रुपैयाँ चन्दा संकलन गरिएको थियो।
रामचन्द्रका अनुसार ८० हजार बुझाएर शव घर लग्न खोज्दा पनि फार्मेसीले रोकेको थियो। तर पछि बाँकी रकम भुक्तानी गर्ने शर्तमा शव घर ल्याउन दिएको रामचन्द्रले बताए।
फार्मेसी सञ्चालकले धम्काएपछि रामचन्द्र अस्पताबाट पत्नीको शव लग्न सकेका थिएनन्।
पुनमलाई सुत्केरी व्यथा लागेपछि भदौ पहिलो साता जनकपुरको पीडारीचोक स्थित रहेको मधेश हस्पिटलमा शल्यक्रिया मार्फत २ शिशु (छोरा) लाई जन्म दिएकी थिइन्। शल्यक्रियामै गरेको त्रुटिको कारण पेट फुल्न थालेपछि उनलाई भर्ना भएको भोलिपल्ट हस्पिटलले नै दबाबमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको थियो। पुनमको गएको शनिबार साँझ मृत्यु भएको हो।
यद्यपी पुनमले जन्माएको जुम्ल्याहा शिशुको अवस्था समान्य छन्। विपन्नताको कारण दुवै शिशुको स्याहारमा समस्या हुने आफन्त र स्थानीयको चिन्ता छ।
Shares
प्रतिक्रिया