फार्मेसीको बिल तीर्न नसक्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चार दिनदेखि एक सुत्केरीको शव अलपत्र परेको छ।
सर्लाहीको हरिपुर्वा नगरपालिका ८ दशरथपुरका रामचन्द्र माझीकी २८ वर्षीया श्रीमती पुनम माझीको गएको शनिबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।
‘फार्मेसी सञ्चालकले पैसा तिरेपछि मात्र शव लैजान दिन्छु नत्र दिन्न भनेका छन्,’ औषधिको बिल तिर्न भौतारिरहेका माझीले भने, ‘हामी गरिबसँग त्यत्रो रुपैयाँ छैन, अस्पतालले बाहिर निकालेको शव अहिले औषधि पसलेले रोकेका छन्। औषधिको रकम तिर्न अब चन्दा उठाउनुबाहेक अर्को विकल्प छैन।’
माझीले पत्नीको शव अस्पतालले नदिएको भनेर गाउँमा फोन गरेपछि अहिले गाउँलेहरु चन्दा संकलन अभियानमा जुटेका उनले बताए।
‘फार्मेसी सञ्चालकले ले ३ लाख ५ हजार रुपैयाँ बुझए मात्र शव दिन्छु, नत्र दिन्न भनेको छ,’ माझीले रुँदै भने, ‘म संग अब करिब चार सय रुपैयाँ मात्रै बाँकी छ। हामी एकदमै गरिब छौँ। जायजथा केहि छैन। फार्मेसीलाई त्यत्रो रुपैयाँ कहाँबाट ल्याएर तिर्नु?’
केही मान्छेले गरिब भनेर थाहा पाएपछि अस्पतालले शव रोक्दैन भने पनि अहिले आफूलाई पत्नीको शव नदिएको गुनासो उनले गरे।
पुनमलाई सुत्केरी व्यथा लागेपछि २२ दिनअघि जनकपुरधाम उपमहानगरपालिका ९ मा मापदण्ड विपरीत खुलेको मधेश हस्पिटलमा भर्ना गरिएको थियो। त्यहाँ एक दलाल मार्फत सुत्केरी गराउन पुनमलाई लगिएको थियो।
शल्यक्रिया मार्फत पुनमले दुई शिशु (छोरा)लाई जन्म दिएकी थिइन्। शल्यक्रिया गरेदेखि नै पेट फुल्दै गएपछि भोलिपल्ट अस्पतालले उनलाई बाहिर लैजान दबाब दिएको थियो। कारबाहीमा पर्ने डरले अस्पताल सञ्चालकले आफैँले एम्बुलेन्स खोजेर पुनमलाई धरान पठाएका थिए। धरानमा उपचारकै क्रममा पत्नीको मृत्यु भएको पति रामचन्द्रको भनाइ छ।
मापदण्ड विपरीत नै जनकपुरको थापा चोकमा सञ्चालित समर हस्पिटलमा कार्यरत केहि एचए लगायतका स्वास्थ्यकर्मीले मधेश हस्पिटल खोलेका हुन्। समर हस्पिटलका संचालक सुजित यादवले उनीहरु पहिले आफ्नै अस्पतालमा काम गर्ने मान्छे भएको बताए।
‘पहिले उनीहरु हाम्रो यहिँ हस्पिटलमा काम गर्थे । पछि यहाँ काम छाडेर आफ्नो छुट्टै हस्पिटल खोलेछन्। उनीहरुको नाम पनि मैले बिर्सिसकेँ,’ यादवले भने।
Shares
प्रतिक्रिया