जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका पेपर कोर्स करारका शिक्षक ३ सातादेखि आन्दोलनरत छन्।
स्थापनाकालदेखि पेपर कोर्स कन्ट्रयाकमा काम गरिरहेका उनीहरू करार नियुक्ति माग गत साउन २४ गतेदेखि आन्दोलनमा उत्रिएका हुन्।
पठनपाठन ठप्प पारी ३५ जना शिक्षक विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक शिक्षक संघको ब्यानरमा भदौ ८ गतेदेखि विश्वविद्यालयको मूल प्रवेशद्वारमा धर्ना बसेका छन्।
दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म धर्नामा बस्ने गरिएको शिक्षक संघका संयोजक प्रध्यापक दिलीप यादवले बताए।
यसअघि उनीहरूले साउन २४ गतेदेखि २९ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गरेका थिए।
यथाशीघ्र माग सम्बोधन नगरे अनिश्चितकालीन तालाबन्दी र आमरण अनशनसम्मका कडा संघर्ष थालिने संयोजक यादवले बताए।
उनका अनुसार स्थापनाकालमा पढाउने शिक्षक नहुँदा तत्काल कोर्स कन्ट्रयाक्टमा पढाउन र पछि दरबन्दी सिर्जना गरी करार नियुक्ति गरिदिने विश्वविद्यालयले आश्वासन दिएको थियो।
‘स्थापनाकालमै पढाउने जनशक्ति थिएन। त्यतिबेला हामीलाई आज पढाउनुस्, भोलि दबन्दी आएपछि करारमा नियुक्ति गरिदिन्छौं भन्योे’, संयोजक यादवले भने, ‘तर आ.व. २०७६/०७७ मै २६ जना शिक्षकको दरबन्दी सिर्जना भयो। त्यति दबन्दीको निरन्तर तलबभत्ता आइरहेको छ। तर हामीलाई दिएको आश्वसानअनुसार नियुक्ति गर्न जालझेल गर्दै छ। हामीलाई पाखा लगाउन खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रेका हौं।’
वि.स. २०७४ मा स्थापना भएको राजर्षि जनक विश्वविद्यालयको पठनपाठन २०७५ मंसिर ५ गतेदेखि सञ्चालन भएको थियो। त्यतिबेला जनशक्ति नहुँदा असोजमा ५ जना शिक्षक नियुक्ति गरेको थियो।
विश्वविद्यालयको आफ्नो भवन नहुँदा कार्यालय जनकपुरको भ्रमरपुराचोकमा भाडाको घरमा सञ्चालन गरिएको छ भने जनकपुर उपमहानगरपालिका ८ स्थित भोला लाइन्स इङ्लिस बोर्डिङ स्कुलको भवनमा पठनपाठन गराउने गरिएको छ।
समायोजनका क्रममा केही प्रध्यापक आंगिक क्याम्पसबाट आएका छन्। स्थापनाकालदेखि अहिलेसम्म ३५ जना शिक्षक पेपर कोर्स कन्ट्रयाकमा पढाइरहेका छन्।
२०७७ फागुनमा प्रोफेसर ६ जना र रिडर ७ जना विश्वविद्यालयले करारमा नियुक्ति गरेको थियो। सोही वर्ष असार मसान्तमै केही कर्मचारी भर्ना गर्ने क्रममा शिक्षकहरूलाई समेत करारमा राख्न माग गर्दा तपाईंहरूलाई नचिन्ने भन्दै बेवास्ता गरेपछि बाध्य भएर संघर्षको बाटो रोज्नुपरेको प्रोफेसर शम्भु पोखरेलले बताए।
२६ जना दरबन्दी शिक्षकका लागि आएको रकम करारमा नियुक्ति नगरी विश्वविद्यालयले प्रशासनमा खर्च गर्ने गरेको उनले बताए।
राजर्षि जनक विश्वविद्यालयको ऐनमा आंगिक आधार क्याम्पसका रूपमा जनकपुरको रामसागर रामस्वरूप बहुमखी क्याम्पस छ भने आंगिक क्याम्पसका रूपमा सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पस र सिरहाको सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मर्बैता क्याम्पस छन्।
तर रामसागर रामस्वरूप बहुमखी क्याम्पसले अहिलेसम्म यो विश्वविद्यालयका आंगिक क्याम्पस बन्न अस्वीकार गरेको छ।
आफूहरू धर्ना बसेकै दिनदेखि विश्वविद्यालयका उपकुलपति भरत झा र राजिस्टार महेन्द्रप्रसाद यादव सम्पर्कविहीन बनेको शिक्षकहरूको आरोप छ।
उपकुलपति झाले भने आफू विशेष कामले काठमाडौं आएको र सम्पर्कमै रहेको बताएका छन्। उनले विश्वविद्यालयको सभाबाट २६ वटा दरबन्दी सिर्जना गरी लोक सेवा आयोगमार्फत पदपूर्ति गर्ने निर्णय भएको बताए।
‘कानुन मिचेर कोर्स करारमा रहेका शिक्षकलाई दरबन्दीमा करारमा भर्ना गर्न मिल्दैन। सभाबाट लोक सेवा आयोगमार्फत पदपूर्ति गर्ने निर्णय भएको थियो। त्यहीअनुसार हुन्छ’, उपकुलपति झाले नेपालखबरसँग भने, ‘स्थापनाकालमा शिक्षकहरू कोर्स करारमा पढाउन तयार हुनुभयो। पछि करारमा नियुक्त गरिदिन्छौं भन्ने आश्वासन दिएका थिएनौं।’
तर उपकुलपति झाले नै गएको वैशाख १४ गते पाँचवटा फ्याकेल्टीका लागि ५ जना शिक्षक तथा प्रशिक्षक करारमा नियुक्ति गर्न स्वीकृति दिएका थिए। तर कोर्स करारका शिक्षकले आफूहरूलाई सोहीअनुसार करारमै भर्ना गर्न माग गरेपछि विज्ञापन रद्द गरिएको थियो।
हाल राजर्षि जनक विश्वविद्यालयमा ७ वटा फ्याकेल्टीमा पठनपाठन भइरहेको छ। म्यानेजमेन्टतर्फ बीबीए र एमबीए, साइन्स एन्ड टेक्नोलोजीतर्फ बीपीएच, बीएमएलटी र बीएस्सी सीएसआइटी र हुमेनिटिजतर्फ बीसीए र बीएएलएलबी अध्यापन भइरहेका छन्।
शिक्षकहरूका आन्दोलनले विश्वविद्यालयको पठनपाठन प्रभावित भएको छ।
Shares
प्रतिक्रिया