ad ad

समाज


हिमाली जिल्लामा कोरोना : हुम्लाका विद्यालय फेरि बन्द, कालिकोटामा थपियो निषेधाज्ञा

हिमाली जिल्लामा कोरोना : हुम्लाका विद्यालय फेरि बन्द, कालिकोटामा थपियो निषेधाज्ञा

नेपालखबर
साउन २३, २०७८ शनिबार २१:०, काठमाडौँ

देशका हिमाली जिल्लामासमेत कोरोना संक्रमणले सताउँदै लगेको छ। त्यहीकारण खुलिसकेका विद्यालय बन्द हुन थालेका छन् भने निषेधाज्ञा पनि थपिँदै गएको छ।

कालिकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थपिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभर भदौ १ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको बताए।

उनका अनुसार निषेधाज्ञाको नियममा परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम थियो

उता हुम्लाका दक्षिणी भेगका तीनवटा गाउँपालिकाको निर्णयबाट खुलेका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ। जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए। 

ताँजकोट र अदानचुलीकाका प्रमुख प्रशासकीय अधिकृतलाई शुक्रबार बसेको जिल्लाको डिसीसिएमसी बैठकपछि विद्यालय सञ्चालन नगर्न फोनमार्फत जानकारी दिइएको हो। 

त्यस क्षेत्रका कतिपय स्थानमा टेलिफोनले राम्रोसँग काम नगरेका कारण अझै स्पष्ट जानकारी हुन नसकेको उनले बताए ।

गाउँगाउँमा कोरोना सङ्क्रमणका लक्षणसँग मिल्ने बिरामी बढिरहेको अवस्थामा विद्यालयमा सञ्चालन गर्न नसकिने निष्कर्ष बैठकले निकालेको हो। 

चंखेलीमा गत असार २९, ताँजाकोटमा साउन १५ र अदानचुलीमा साउन २० गतेबाट विद्यालय सञ्चालन हुँदै आएको छ । तीनवटा गाउँपालिकामा पठनपाठन भइरहेका ६६ वटा विद्यालय फेरि बन्द हुने भएका हुन् ।

विद्यालयमा विद्यार्थीको भीडभाड बढी हुने र यसबाट सङ्क्रमण बढ्न सक्ने भएका कारण बन्द गर्न जिल्ला शिक्षा समन्वय एकाइ प्रमुखलाई जानकारी गराइएको हो। 

डिसीसिएमसीको बैठकले जिल्लामा पठनपाठन भइरहेका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .