नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले पर्यावरण तथा चुरे संरक्षणका लागि हरित अभियान सञ्चालन गरेका छन्।
हरित अभियान अन्तर्गत पहिलो चरणमा तीन लाख विरुवा रोप्ने उनले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।
पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री समेत रहेका नेता पोखरेलले महोत्तरीको निर्वाचन क्षेत्र नं. १ को बर्दिबास नगरपालिका, गौशाला नगरपालिका र भंगहा नगरपालिका क्षेत्रमा वृक्षारोपणको थालनी गरेको बताए। तीन लाख बिरुवा रोप्ने हरित अभियानको सुरुवात शनिबार बर्दिबासमा वृक्षरोपण गरी थालेको उनले बताए।
हरित अभियान मानव तथा प्रकृति बिचको स्वस्थ सम्बन्धलाई पुनर्स्थापित गराउने पहल रहेको भन्दै उनले सरोकारबाला संघसंस्था, क्लब, समूहलाई यसमा सहभागि हुन अपिल गरे।
उक्त अभियानको लागि पालिकाहरू, राजनीतिक दल तथा संघसंस्थासँग समन्वय गरी अघि बढ्ने नेता पोखरेलको भनाइ छ।
महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता पोखरेलले वातावरणीय समस्याहरूको समाधान गर्नका लागि सरकारी क्षेत्रको पहलबाट मात्रै सम्भव नहुने भएकाले सबै पक्ष हरित अभियानमा लाग्न आग्रह गरे।
Shares
प्रतिक्रिया