सन् २००० तिर माधव देवकोटा काठमाडौंको प्रतिष्ठित पाँच तारे होटलमा काम गर्थे। एक दिन उनी होटलको कफी सपमा काम गरिरहेको बेलामा एक जना विदेशीले उनलाई प्रस्ताव गरे, 'हामीसँग काम गर्ने हो?'
उनले एकछिन सोचे र हुन्छ भनिदिए।
यो नै उनको जीवनको 'टर्निङ प्वाइन्ट' बन्यो। अर्थात देवकोटा यूएई पुगेर स्टार बक्स कफीमा काम गर्न थाले। उनी अक्टोबर २००० मा यूएई पुगेका थिए।
काठमाडौं झोरमा जन्मे हुर्केका उनी यूएई पुग्दा नेपालमा 'फ्रेस कफी कल्चर' छँदै थिएन। उनले पनि कफीको पियोर स्वाद यहाँ लिन पाएका थिएनन्। त्यो स्टार बक्समै लिए।
स्टार बक्स पुगेपछि उनले काम मात्रै गरेनन् कफी बनाउन सिके। र त्यहीँ कफी बनाउन सिकाउने भए। अर्थात उनी कफी गुरू बने।
उनी त्यहाँ कफी गुरू र कफी म्यानेजर बनेर काम गरे। तर उनको मन भने नेपालमा थियो। उनी स्टार बक्समा काम गरिरहेको समयमा नेपालमा फाट्ट फुट्ट कफी सपहरु खुले पनि यसले पूर्ण व्यवसायिकता पाइसकेको थिएन। कफी बनाउन सिकाउने ठाउँ त छँदै थिएनन्।
सन् २००८ मा त्यो सिप लिएर उनी नेपाल फर्किए। त्यसपछि केही ठाउँमा काम गरे। केहीलाई बरिस्ता बनाए।
हिमालयन जाभाले यहाँ विस्तारै गति लिइरहेको थियो। कफी पारखीहरु जाभामा जम्मा हुन्थे। कफी पिउँथे र घण्टौं गफिन्थे।
देवकोटा पनि जाभासँग जोडिए। नेपालमा उनको व्यवसायिकता त्यहीँबाट सुरु भयो। सुरुमा उनी जाभाको आउटलेट म्यानेजर भएर काम गरे। सुरुमा जाभाको कफी स्कुल थिएन। जाभाले 'अन द जव' ट्रेनिङ भने दिन्थ्यो। देवकोटाले त्यसैगरी सिकाए।
हिमालयन जाभाले नेपालको कफी कल्चरमा रिभुलेसन ल्याएको उनी बताउँछन्। जाभाले सन् २०१३ मा कफी स्कुल सुरु गरे पछि उनी पूर्णरुपमा त्यहाँ जोडिए। र पूर्णकालिन कफी गुरू बने। अहिले उनी हिमालयन जाभा कफी स्कुलको तालिम निर्देशक छन्।
उनले कतिलाई बरिस्ता तालिम दिए त्यसको सम्झना उनीसँग छैन। तर जसले सिकेका छन् उनीहरुले राम्रो गरेका छन्। काठमाडौं, पोखरा लगायतका सहरमा उनीसँग बरिस्ता तालिम लिएकाहरुले आफ्नै व्यवसाय पनि गरेका छन्। यसले आफूलाई जीवनको सबैभन्दा ठूलो सन्तुष्टि दिने बताउँछन् देवकोटा।
प्रायजसो विदेश जानेहरुनै उनका विद्यार्थी हुन्। उनका विद्यार्थी यही उमेरका छन् भन्ने छैन। युवादेखि पाकासम्मले देवकोटासँग बरिस्ता तालिम लिएका छन्। उनले तालिम दिएका मध्ये ५ देखि ७ प्रतिशतमात्र नेपालमा बस्ने गरेको उनले बताए। प्राय: अष्ट्रेलिया, युरोप र गल्फजाने बरिस्ता तालिमको लागि आउने गरेको उनको अनुभव छ।
माधव देवकोटाले बरिस्ताको पाठ्यक्रम पनि विकास गरेका छन्। जुन पाठ्यक्रमले कफी बनाउने एउटै तरिका होइन धेरै विधिलाई समेटेको उनको दाबी छ। यूएईमा सिकेको ज्ञानलाई समेट्दै नेपाली शैलीको पाठ्यक्रम विकास गरेको उनको भनाई छ।
उनका ४ वटा कफी बनाउने सुत्र छन्। बताउने, देखाउने, गर्ने र पृष्ठपोषण लिने। पहिले उनले कफी कस्तो पेय पदार्थ हो बताउने, बनाएर देखाउने, अभ्यास गर्न लगाउने र त्यो कस्तो भयो प्रतिक्रिया लिन्छन्।
यसो गर्दा विद्यार्थीमा पूर्णरुपमा सिकाई हुने उनको बुझाई छ।
माधव सन् २०११ तिर जाभासँग जोडिएका हुन्। हरेक विद्यार्थीका लागि ५० घण्टा कफी ल्यावमा बिताउँछन्। जाभाको कफी स्कुलमा विदेशमा कफी बनाउन प्रयोग हुने सबै प्रकारका मेसिन रहेको उनले बताए।
'हामीसँग सबै प्रकारका मेसिन छन्', उनले भने, 'यहाँ सिकेकाहरु विदेशमा गएर प्राविधिकरुपमा अड्किनु पर्दैन।'
कफी बनाउनु काम मात्र नभएको देवकोटाको बुझाई छ।
'यो काम वा जागरिमात्र होइन', देवकोटा भन्छन्, 'यो एउटा कला पनि हो।'
कफी बनाउन एक पटक सिकेर मात्र पुग्दैन, उनको भनाइमा यो निरन्तरको सिकाई हो।
स्टार बक्समा हुँदा उनले धेरैको 'कफी गुरु' भएको भन्दै अवार्ड पनि पाएका थिए। विद्यार्थीहरु नै आफ्नो शक्ति भएको उनलाई महसुस हुन्छ।
कफी पकाउँदामात्र राम्रो बनाएर नहुने उनी बताउँछन्।
'कफीको बाली भित्र्याउनेदेखि कपमा राखेर खानेसम्मको तरिका मिलाएमा यसको स्वादको उच्चतम सन्तुष्टि प्राप्त गर्न सकिन्छ’, देवकोटाले भने।
यो पनिः
१. अभि, जाभा र कफी
२. नारायणहिटी अगाडि अभि सुवेदी टेबलसहित नयाँ हिमालयन जाभा, थेगो– हाम्रो राष्ट्र हाम्रो कफी
प्रतिक्रिया