गुगलले एन्ड्रोइड प्रणालीको स्वीकृती हुवावेलाई नदिने बताएपछि हुवावले आफ्नै अपरेटिङ प्रणाली बनाउने घोषाण गरेको हो।
हुवावेले अपरेटिङ प्रणालीको नाम ‘हार्मोनीओएस’ हुने जनाएको छ। पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफुले ओएस बनाउने बताएको हो।
यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइडसमेत प्रयोग नगर्न दबाब दिइरहेको थियो।
एन्ड्रोइडले पनि हुवावेलाई अमेरिकी सरकारको निर्णय भन्दै आफ्नो अपरेटिङ सिस्टम अस्थायी रुपमा मात्र प्रयोग गर्न दिने जानकारी दिइसकेको थियो।
विश्व बजारमा हाल एन्ड्रोइड र एप्पलका अपरेटिङ सिस्टम सर्वाधिक प्रचलनमा छन्। विश्वमै सर्वाधिक बिक्री हुने गरेको सामसुङले हाल एन्ड्रोइड सिस्टम चलाइरहेको छ भने आइफोनमा आइओएस प्रयोग भइरहेको छ।
हाल विश्वमा हुवावेका स्मार्टफोन निकै प्रयोगमा छन्। हुवावेका व्यवसाय प्रमुख रिचार्ड यूले डोन्गुआनमा आयोजित पत्रकार सम्मेलनमा हुवावेले “हार्मोनीओएस” बजारमा ल्याउने बताएका हुन्।
यस अपरेटिङ प्रणालीलाई स्मार्टफोनसँगै, घडी, टेलिभिजन र कारमा पनि प्रयोग गर्न सकिने छ। यसअघि हुवावेले आफ्ना अपरेटिङ प्रणाली एन्ड्रोइडभन्दा ६० प्रतिशत छिटो हुने बताएको थियो। एजेन्सी
Shares
प्रतिक्रिया