ad ad

प्रविधि


यस्तो छ संसारको सबैभन्दा महंगो विमान

यस्तो छ संसारको सबैभन्दा महंगो विमान

नेपालखबर
फागुन ४, २०७६ आइतबार १०:२४,

संसारको सबैभन्दा महंगो विमान यात्रु वा सामान ओसार्न होइन, बम खसाल्न प्रयोग हुन्छ। यो विमान हो, अमेरिकाको बी–२ स्पिरिट बमवर्षक। यस्तो एउटा विमानको मूल्य २ अर्ब डलरभन्दा बढी पर्छ।

यो संसारका अन्य सैन्य विमानभन्दा बिल्कुल अलग छ। त्यसैले नै अमेरिकाको सबैभन्दा शक्तिशाली हतियारमध्ये यो विमान पनि पर्छ। राडारले देख्न नसक्ने यो विमान शीतयुद्धमा सोभियत संघको हवाई प्रतिरक्षा प्रणाली भेद्न डिजाइन गरिएको थियो। तर, यो विमानले पहिलो उडान भरेको केही समयमै सोभियत संघ पतन भयो, जसका कारण यो सोभियत आकाशमा उड्न पाएन।

तथापि अनेकौँ युद्धमा यो विमानका प्रयोग भइसकेको छ। यसले आणविक र गैरआणविक दुवैखाले हतियार बोक्न र प्रहार गर्न सक्छ।

यो विमान पहिलो पटक सन् १९९३ मा मिजोरीस्थित ह्वाइटम्यान हवाई अड्डामा राखिएको थियो। जहाँ अहिले पनि २० बी २ बमवर्षक छन् र त्यहीँबाट सञ्चालन हुन्छन्। ती सबै नर्थरोप ग्रुम्यान कम्पनीले बनाएको हो।

K48.jpg

सुरुमा १३२ वटा बनाइने योजना थियो तर पछि त्यो संख्या ७५ मा झारियो। तर, शीतयुद्ध समाप्त भएसँगै २१ वटा मात्रै यो विमान बने। जसमध्ये एक दुर्घटनाग्रस्त भयो।

पहिलो पटक सन् १९९९ मा यसलाई कोसोभो युद्धमा प्रयोग गरिएको थियो।

उडिरहँदा इन्धन भर्न सक्ने भएकाले संसारको जुनसुकै स्थानमा पनि पुगेर फर्किन सक्छ यो विमान। हरेक ६ घण्टामा विमानमा इन्धन भर्नुपर्छ। हालसम्म युद्धमा यो विमान कहिल्यै ध्वस्त भएको छैन।

‘विमानकै कुरा गर्ने हो भने यो पूरै एक्का हो। यो अन्य विमानभन्दा पूरै फरक छ,’ यो विमानकी विज्ञ रेबेका ग्रान्ट भन्छिन्।

यो विमान लगातार ४४ घण्टासम्म उडेको छ। सन् २००१ मा यो अमेरिकाबाट अफगानिस्तान पुगेर मिसन समाप्त गरी पुनः अमेरिका नै पुगेको थियो। यो विमान उडाउन प्रतिघण्टा एक लाख ३५ हजार डलर खर्च हुन्छ। यो विमान प्रतिघण्टा १ हजार १० को गतिमा उड्न सक्छ।

त्यसैले विमानमा ककपिटपछाडि दुईमध्ये एक पाइलटलाई सुत्ने ठाउँ पनि हुन्छ। त्यस्तै खाना राख्ने र तताउने र ट्वाइलेटको सुविधा पनि यसमा हुन्छ।

http___cdn.cnn.com_cnnnext_dam_assets_191203130318-gettyimages-1881911.jpg

सानो आकार र गुप्त प्रविधिको प्रयोग भएको यो विमान उडाउने पाइलटहरुको छनोट पनि निकै प्रतिस्पर्धात्मक हुने गर्छ। पछिल्ला वर्षहरुमा यसको निरन्तर अपग्रेड हुँदै आएको छ।

अमेरिकासँग रहेको आणविकबाहेकको सबैभन्दा ठूलो बम जीबीयू–५७ हो। यो विमानले यस्ता दुई वटा बम बोक्न सक्छ। झण्डै १४ हजार किलोको यो बम ९ मिटर लामो हुन्छ।

जमिनको सतहलाई फुटाएर भूमिगत क्षेप्यास्त्र राखिएको स्थान भत्काउन यस्तो बम प्रयोग गरिन्छ।

यो विमानले अन्य हतियार पनि बोक्न सक्छ। जसको प्रयोग अमेरिकी सेनाले सिरिया, इराक र अफगानिस्तानमा गरिसकेको छ।

यद्यपि यो विमान अमेरिकाको मुख्य हतियार रहिरहने सम्भावना धेरै छैन। किनभने अहिले यसलाई उछिन्ने बी–२१ रेडर नामक विमान निर्माणको क्रममा छ। जुन २०२५ पछि सेवामा प्रवेश गर्ने अपेक्षा गरिएको छ। एजेन्सी

यो पनि:

यी हुन् अमेरिकाका सबैभन्दा शक्तिशाली हतियार

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .