रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्र जडान गरेको दाबी गरेकाे छ।
त्यहाँको रक्षा मन्त्रालयले यस्तो क्षमताका क्षेप्यास्त्रहरू जडान गरिएको जानकारी दिए पनि स्थानबारे जानकारी दिएको छैन।
तर त्यहाँका अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने संकेत दिएको बीबीसीले उल्लेख गरेको छ।
बीबीसीका रक्षा संवाददाता जनाथन मार्कसले ती क्षेप्यास्त्रको प्रतिरक्षा गर्न गार्हो हुने बताएका छन्। उनले भनेका छन्, ‘रुसको घोषणाले आणविक अस्त्रको दौडमा नयाँ र खतरनाक युग सुरु गरेको छ।’
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पुर्याएकाे दाबी गरेका छन्।
ती क्षेप्यास्त्रमा ‘ग्लाइड’ प्रणाली राखिएकाले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न नसकिने दाबी गरिएको छ।
सन् २०१८ डिसेम्बरमा गरिएको परीक्षणमा ती क्षेप्यास्त्रले ६ हजार किलोमिटरसम्म प्रहार गरेकाे बीबीसीकाे समाचारमा उल्लेख छ।
अन्तर महादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्ने जनाइएको छ।
प्रतिक्रिया