अर्बपति इलोन मस्कले अब सामाजिक सञ्जाल ट्वीटरमा भेरिफिकेसनको लागि पैसा तिर्नुपर्ने समाचारको पुष्टि गरेका छन्।
उनले ट्वीटरको ब्लु टिक भएका प्रयोगकर्ताले मासिक ८ अमेरिकी डलरबराबरको शुल्क बुझाउनुपर्ने बताएका हुन्। मंगलबार ट्वीटमार्फत उनले यस्तो जानकारी दिएका हुन्। अहिलेसम्म निःशुल्क रहँदै आएको फिचरको लागि अब भने पैसा तिर्नुपर्ने मस्कले बताएका हुन्।
उनले लेखेका छन्, ‘गुनासो गर्नेहरु कृपया गुनासो गर्न जारी राख्नुहोस् तर यसको शुल्क ८ डलर लाग्छ।’
गत साता मस्कको ट्वीटरसँगको ४४ अर्ब अमेरिकी डलरको सम्झौता पूरा भएको थियो। ट्वीटर खरिद सम्झौता पूरा भएसँगै मस्कले कम्पनीका शीर्ष कर्मचारीलाई कामबाट बर्खास्त गरेका छन्।
मस्कले ब्लु टिक भएका प्रयोगकर्तालाई प्रतिक्रिया दिन, मेन्सन गर्न र सर्चमा प्राथमिकतामा राखिने बताएका छन्। साथै उनीहरुले ट्वीटरमा लामो भिडिओ र अडिओ पनि राख्न पाउनेछन्। त्यस्तै त्यस्ता प्रयोगकर्तालाई विज्ञापन पनि आधा मात्र देखाइनेछ।
यसअघि ट्वीटरले भेरिफिकेसनको लागि मासिक २० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था हुन सक्ने समाचार सार्वजनिक भएको थियो। यद्यपि मंगलबार मस्कले भने मासिक ८ डलर तिर्नुपर्ने घोषणा गरेका हुन्।
Shares
प्रतिक्रिया