गुगलको मातृ कम्पनी अल्फाबेटले भारतमा आफ्नो केही पिक्सेल फोन बनाउने विषयमा छलफल सुरु गरेको छ।
कोभिड–१९ संक्रमण नियन्त्रणका लागि चीनले लगाएको विभिन्न किसिमको अवरोधलाई ध्यानमा राख्दै अल्फाबेटले उत्पादन अन्यत्र सार्ने तयारी गरेको हो।
चीनको अमेरिकासँगको तनाव जारी रहेको अवस्थामा अल्फाबेटले यस्तो निर्णय गरेको हो। यस विषयमा अल्फाबेटले आधिकारिक जानकारी भने दिएको छैन।
अल्फाबेटले भारतमा ५ लाख देखि १० लाखसम्म पिक्सेल फोन उत्पादनको तयारी गरिरहेको छ। यो संख्या समग्र पिक्सेल फोन उत्पादनको १० देखि २० प्रतिशत हो।
कम्पनीका सीईओ सुन्दर पिचाईले यस वर्षको सुरुमा नै भारतमा पिक्सेल फोन उत्पादनको योजनाबारे छलफल भइरहेको बताएका थिए।
यो प्रस्ताव पारित भएको अवस्थामा पनि भारतमा चीनबाटै यसको लागि आवश्यक कच्चा पदार्थ ल्याउनु जरुरी रहेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
जापानी सञ्चारमाध्यम निक्केईका अनुसार अल्फाबेटले भारतका साथै भियतनामलाई पनि अर्को उत्पादन केन्द्रको रुपमा अघि सारेको छ। एप्पलले यसअघि नै भारतमा आईफोन उत्पादन सुरु गरिसकेको छ।
Shares
प्रतिक्रिया