अमेरिकाको एक अदालतले अर्बपति इलोन मस्कको स्पेसएक्सको स्याटेलाइट प्रक्षेपण योजना रोकिदिएको छ।
यसअघि फेडेरल कम्युनिकेसन्स कमिसन (एफसीसी)ले स्पेसएक्सलाई केही स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा प्रक्षेपणको लागि अनुमति दिने निर्णय गरेको थियो। अदालतले उक्त निर्णय अहिलेको लागि थाती राख्न निर्देशन दिएको हो।
स्पेसएक्सले तल्लो कक्षमा राखिने स्याटेलाइटको माध्यमबाट विश्वभर इन्टरनेट सेवा प्रदान गर्ने योजनामा काम गरिरहेको छ।
२०२१ मा स्पेसएक्सले २८ सयभन्दा धेरै स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदानको लागि राख्ने अनुमति पाएको थियो।
यद्यपि यो निर्णयविरुद्ध प्रतिस्पर्धी कम्पनीहरु भियासाट इंक र डिस नेटवर्क कम्पनीले अदालतमा चुनौती दिएका थिए।
स्पेसएक्सलाई दिइएको अनुमतिले अन्तरिक्ष सुरक्षा र वातावरणीय संरक्षणमा समस्या उत्पन्न हुने उनीहरुको दाबी छ।
उनीहरुले अन्तरिक्ष सुरक्षाको प्रत्याभूति दिलाउन सकेको अवस्थामा मात्र स्पेसएक्सलाई अनुमति दिनुपर्ने बताएका छन्।
उनीहरुले स्पेसएक्सले पाएको अनुमतिले भविष्यमा आफ्नो स्याटेलाइटको सुरक्षा पनि जोखिममा पर्न सक्ने बताएका छन्।
Shares
प्रतिक्रिया