काभ्रेको पनौतीमा गत शनिबार आयोजित ‘आजको वामपन्थ’ विषयक दुई दिने अन्तरक्रियामा विवेकशील साझा पार्टीका मिलन पाण्डे, केशव दाहाल र रमेश पौडेल पनि निम्त्याइएका थिए । त्यहाँ बोल्ने क्रममा पाण्डेले आफू वामपन्थी हो कि हैन, आफैंलाई प्रष्ट नभएको बताए।
विवेकशीलका अर्का नेता रमेश पौडेलले चाहिँ आफू वामपन्थी हो कि हैन भनेर मोबाइलबाट एउटा एपमा परीक्षण गरेको सुनाए । उनले भने,‘म वामपन्थी हो कि हैन भनेर एपमा हेरेँ, त्यहाँ सोधिएका प्रश्नको उत्तर देख्दै जाँदा मलाई ५१ प्रतिशत वामपन्थी देखायो । म ५१ प्रतिशत वामपन्थी र ४९ प्रतिशत दक्षिणपन्थी रहेंछु ।’
तपाईँले बोकेको राजनीतिक विचारधाराबारे अरुलाई थाहा हुने कुरै भएन, तर, तपाईँको हिमचिम, उठबस आदिबाट केही संकेत लाग्न सक्छ। यो यथार्थ नहुन पनि सक्छ। तर, तपाईँको राजनीतिक आबद्धता वामपन्थी कि दक्षिणपन्थी पत्ता लगाउने एप बनेको जानकारी पौडेलले पनौतीमा सबैलाई जानकारी गराए ।
वामपन्थी हो कि दक्षिणपन्थी भनेर पत्ता लगाउने एपको नाम हो–आइआरडील्याब्सडटकम। विश्वका ७ भाषामा रहेको यो एप नेपालमा केही कम्युनिष्ट विचार बोक्ने युवाहरुले प्रयोग गरेका छन् भन्ने कुराको प्रमाण हो रमेश पौडेलको परीक्षण ।
यो एपमा दुईवटा विधिबाट कुन विचारधारासँग नजिक छ भन्ने हेर्न सकिन्छ।
पहिलो, तपाईं सिधै पोलिटिकल लेफ्ट राइट टेस्ट लेखिएको कोलममा गएर त्यसमा सोधिएका २० वटा प्रश्नको जवाफ दिनुभयो भने तपाईंको राजनीतिक झुकाव कतातिर छ भन्ने देखाइदिन्छ। तपाईँले पाएको अंककै आधारमा तपाईको झुकाव थाहा हुन्छ । यदि तपाई बीचको धार दुवैतिर नभएको हो भने त्यो पनि देखाउँछ।
दोस्रो टेस्टका लागि एपभित्र रहेको पोलिटिकल टेष्टमा जान सकिन्छ । त्यहाँ रहेको पोलिटिकल प्रायोरिटी टेष्टमा क्लिक गरेपछि फेरि प्रायोरिटी टेस्टभित्र लेखिएको ‘पोलिटिकल टपिक’लाई क्लिक गर्ने। अनि आउँछ–३६ वटा प्रश्न रहेको कोलम। त्यसमा सोधिएका सबै प्रश्नको जवाफ दिएर फिनिस गरेपछि तपाईको अंक आउँछ।
यसमा हेक्का राख्नुपर्ने कुरा के छ भने, तपाईँले प्रश्नको जवाफ दिएकै आधारमा राजनीतिक झुकाव थाहा हुने हो। यसको वैज्ञानिक आधारबारे अहिले नै यसै भन्न सक्ने देखिदैन। तर, यो एप बनाउन धेरै लेखकहरूको संलग्नता रहेको आइडीआर ल्याब्सले आफ्नो वेभसाइटमा जनाएको छ।
यो एप निर्माणमा कुनै न कुनै क्षेत्रमा विज्ञता हासिल गरिसकेका विश्वविद्यालयका पीएचडीधारीको संलग्नता रहेको दाबी गरिएको छ।
एपका अनुसार यो ‘ट्रिक’ विभिन्न अनुसन्धानमा आधारित पुस्तक, पत्रिका (म्यागाजिन) लगायतले दिएको निष्कर्षका आधारमा बनाइएको हो। त्यसमध्ये एउटा पुस्तकको नाम छ– प्रिडिस्पोज्ड–लिवरल्स, कन्जरभेटिभ्स एण्ड दी बायोलोजी अफ पोलिटिकल डिफरेन्सेस।
त्यसबाहेक मनोवैज्ञानिक, राजनीतिक विचारधारा, वैज्ञानिक आलेख, सामाजिक तथा राजनीतिक दृष्टिकोण र विभिन्न विषयमा पीएचडी गरेका व्यक्तिहरुको विश्लेषणबाट दलको संलग्नता थाहा पाउने एप बनाएको वेवसाइटमा जनाइएको छ।
नेपालको हकमा यसको वास्तविकता कति छ, त्यो भने परीक्षण हुन बाँकी छ। तर, विश्वका केही मुलुक चीन, कोरिया, अमेरिका, ब्राजिल लगायतका मुलुकका भाषामा पनि यसलाई परीक्षण गर्न सकिन्छ।
Shares
प्रतिक्रिया