काठमाडौंमा सञ्चारकर्मी रूपा सुनारलाई कोठा खोज्ने क्रममा जातीय विभेद भएको भन्ने घटनाले निकै चर्चा पाइरहेको छ।
आफूलाई जातीय भेदभाव र अपमान गरेको आरोपमा सुनारले बबरमहलकी घरधनी सरस्वती प्रधानविरुद्ध यही असार ३ गते महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरीसमेत हालिन् भने प्रहरीले घरबेटी प्रधानलाई पक्राउसमेत गरेको थियो।
तर उनी हिरासतमा बसेको ३ दिनका दिन गत बुधबार घटना अनुसन्धान भइरहेकै बेला शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्त (सिंहदरबार) पुगेर आरोपित प्रधानलाई थुनामुक्त गराई आफ्नै झन्डावाल गाडीमा घर पुर्याएपछि मुद्दा अघि बढ्न पाएन।
यसरी सरकारले नै जातीय विभेदको पक्ष लिएको भन्दै अहिले शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहनदेखि राजीनामा माग्नेसम्मका आन्दोलनसमेत भइरहेका छन्।
साथै रूपा सुनार प्रकरणमा यतिबेला समाज दुई खेमामा विभाजन भएर बहस गरिरहेका छन्। सुनार पक्षले जातीय विभेद भएको दाबी गरिरहेको छ भने प्रधान पक्षले कुनै जातीय विभेद नभएको, अनावश्यक विवाद झिकेको आरोप लगाइरहेको छ।
घटना यस्तो थियो
साथीहरूले कोठा खाली छ भनेर सूचना दिएपछि सुनार साथीसहित यही असार १ गते प्रधानको घरमा पुगेर कोठा हेरेकी थिइन्। उनलाई कोठा मन पर्यो। घरबेटी प्रधानले पनि खुसी हुँदै आफ्नै छोरीजस्तो लाग्यो भनेर कोठा भाडामा दिन सहमत भइन्। यस क्रममा सुनारले एकपटक आमालाई पनि कोठा देखाउन ल्याउनपर्यो भनेपछि घरबेटीले अचानक उनको थर सोधिन्।
सञ्चारकर्मी सुनारले निर्धक्कसँग भनिन्, ‘म कामीकी छोरी हुँ।’
सुनारका अनुसार त्यसपछि भने घरबेटी प्रधान छाँगाबाट खसेझैँ भावमा एकछिन चुपो लागिन्। र, केही बेरपछि भनिन्, ‘अहिले नानीको नम्बर दिइराख्नू, म घर-सल्लाह गरेर खबर गर्छु नि है!’
यसको विवरणबारे सञ्चारकर्मी सुनारले फेसबुकमा भिडिओ नै राखेकी थिइन्। तलको समाचार लिंकमा त्यो भिडिओ सुन्न सकिन्छ।
यो पनि : काठमाडौंमा जातीय विभेद: जब घरबेटीले उनको जात थाहा पाइन्...
त्यसपछि आफूलाई असह्य पीडा भइसकेकाले अरू साथीलाई फोन गर्नू भनेर आफू फर्केको सुनारले बताएकी छन्। नभन्दै केही बेरपछि प्रधानले सुनारकी साथीलाई फोन गर्दैै कस्तो मान्छे ल्याएको, त्यस्तो त हुँदैन नि भनेको आफैंले सुनेको सुनारको दाबी छ।
यति मात्र होइन, चित्त नबुझेर आफैंले प्रधानलाई पुनः फोन गर्दा प्रधानले आफ्नो जातकै कारण कोठा दिन नमिल्ने बताएको सुनारको भनाइ छ।
तर यस विषयमा प्रधान समर्थकहरूले आफ्नो घरको कोठा कसैलाई दिने कि नदिने भन्ने आफ्नो इच्छाको कुरा हो भनेर जिकिर गरिरहेका छन् भने सुनार पक्षले आफूलाई पहिले दिइसकेको कोठा पछि जात थाहा पाएकै कारण बहिष्कार गरिनु जातीय विभेद भएको दाबी गरिरहेको छ।
यसैबीच कोठाका सम्बन्धमा सुनार र प्रधानबीच फोनमा भएको कुराकानीको अडिओ सार्वजनिक भएको छ।
आखिर उनीहरूबीच कस्तो संवाद भएको थियो त? प्रस्तुत छ- अडिओका शब्द जस्ताको तस्तै :
सरस्वती प्रधान : हजुर, बोल्दै छु, नानी!
रूपा सुनार : ए.. अँ दिदी के भयो? म दिउँसो आथेँ नि?
सरस्वती प्रधान : (अलि अन्कनाउँदै) अँ...कोठाको लागि?
रूपा सुनार : हजुर, हजुर, अँ।
सरस्वती प्रधान : ए... कोठाको लागि यस्तो भयो नि नानी, हजुरमाँ छ, हैन?
रूपा सुनार : अँ..
सरस्वती प्रधान : त्यही भएर नमिल्ने भयो के नानी है! नरिसाऊ ल?
रूपा सुनार : ए..! के रे दिदी?
सरस्वती प्रधान : हजुरमाँ छ, त्यही भएर चाहिँ ऊ गर्छ के माँले!
रूपा सुनार : ए.. हजुरमाँ हुँदाखेरि चैँ हाम्रो जातको मान्छेहरू बस्न नमिल्ने?
सरस्वती प्रधान : अँ अँ अँ अँ, हाम्लाई त केही छैन, माँलाई चाहिँ अलि हुँदैन के याँ!
रूपा सुनार : ए... (दुःखी हाँसो)
सरस्वती प्रधान : है है, नरिसाऊ ल, नानी?
रूपा सुनार : ए...ल हुन्छ दिदी हुन्छ।
सरस्वती प्रधान : अर्काे छ भने यसो साथीभाइमा, यसो खोज्देऊ हैन? है!
रूपा सुनार : ए.. हुन्छ दिदी हुन्छ।
सरस्वती प्रधान : आउन कहिलेकाहीँ यसो आउन है!
रूपा सुनार : (पीडित स्वरमा) हुन्छ, दिदी हुन्छ।
यो पनि : रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?
Shares
प्रतिक्रिया