ad ad

समाज


यस्तो बन्यो ८ रेक्टरको भूकम्प थेग्ने सिंहदरबार (भिडिओ)

यस्तो बन्यो ८ रेक्टरको भूकम्प थेग्ने सिंहदरबार (भिडिओ)

वसन्त अर्याल
फागुन २, २०७७ आइतबार १०:५९,

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको रेट्रोफिटिङ (पुनर्सवलीकरण) सकिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुरानै भवनमा सर्ने भएको छ।

वि.सं. २०७२ को भूकम्पले क्षति पुर्‍याएको भवन पुनर्निर्माण कार्य सकिएसँगै प्रधानमन्त्री कार्यालय सर्न लागेको हो। कार्यालयको उद्घाटन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्।

सिंहदरबार भवनका चार मोहडामध्ये उत्तर, दक्षिण र पूर्वी मोहडाको पुनर्निर्माण सकिएको छ भने पश्चिम मोहडा असारसम्म सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ।

New singhadurbar 1

‘३ वर्षअघि रेट्रोफिटिङ सुरु भएको सिंहदरबार निर्माण सम्पन्न हुने चरणमा पुगेको छ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालखबरसँग भने, ‘३ वटा मोहडाको कंक्रिट स्ट्रक्चर (पक्की संरचना) सहित रेट्रोफिटिङ गर्‍यौं, अब सोमबार उद्घाटन हुँदैछ।’

वि.सं.२०३० मा भएको आगलागीपछि उत्तर, दक्षिण र पूर्वी मोहडा पक्की संरचनामा निर्माण गरिएको थियो।

पश्चिम मोहडा भने आगलागीमा नपरेका कारण पुरानै संरचनामा रहेकाे थियो। भूकम्पले क्षति पुर्‍याएपछि यो मोहडा पुरानै संरचनामा निर्माण गरिँदै छ।

New singhadurbar 3

यस भवनलाई बलियो बनाउनको लागि स्टिल प्लेट प्रयोग गरिएको छ। चन्द्र शममेरका पालामा समेत स्टिल प्लेट प्रयोग भएको ज्ञवालीले बताए। उनका अनुसार यसमा कंक्रिट प्रयोग भएको छैन। चुना, सुर्की, काठलगायतको प्रयोग गरिएको छ। भवन निर्माणका लागि कालिगढलाई तालिम दिएर काम गरिएको उनले जानकारी दिए।

सिंहदरबारको पुनर्निर्माण ‘निओ क्लासिकल आर्किटेक्चर’ अर्थात पुरानै स्वरुपमा गरिएको छ। मूल संरचनामा कुनै परिवर्तन नगरे पनि भित्रका कोठाहरु अहिलेको आवश्यकता अनुसार परिवर्तन गरिएको छ।

New singhadurbar 7

डिजिटल प्रविधिलाई सहज बनाउन इन्टरनेट, कोठाअनुसार विद्युतीय व्यवस्थापन, एयर कन्डिसन, अग्नि नियन्त्रण यन्त्रको व्यवस्था गरिएको छ। ८ रेक्टरको भूकम्प थेग्न सक्नेगरी भवनको पुनर्निर्माण गरिएको छ।

‘सामान्य रेट्रोफिटिङ मात्रै होइन पुरै संरचना भूकम्प प्रतिरोधी रहेको छ,’ ज्ञवालीले भने।

प्रधानमन्त्री कार्यालयमा सुरक्षा व्यवस्थालाई प्राथमिकता दिइएको छ। ‘भवनमा प्रवेश हुने ठाउँमा स्क्यानिङ गरेर मात्रै भित्र जान सकिने व्यवस्था गरिएको छ’, ज्ञवालीले भने ‘देशकोे कार्यकारी प्रमुखलाई सबैले भेट्न सक्नेगरी अपांगमैत्री बनाइएको छ भने भवनमा लिफ्टको समेत व्यवस्था गरिएको छ।’

New singhadurbar 8

निर्माण सम्पन्न भएका ३ मोहडा पुनर्निर्माण गर्न करिब ८० करोड रुपैयाँ खर्च भएको छ। जसमा प्रधानमन्त्री कार्यालय मातहत ५ वटा महाशाखा रहेका छन्। प्रधानमन्त्रीका सल्लाहकार, सचिवालय सबैका लागि प्रयाप्त ठाउँको व्यवस्था गरिएको छ।

सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री कार्यालय मातहतका महाशाखा वा कार्यालय रहनेछन्। यसअघि अन्य मन्त्रालय समेत उक्त भवनमा रहेकोमा अब भने प्रधानमन्त्री कार्यालय मात्रै राखिने भएको हो।

अहिले भवनकाे बाहिरी भागमा सरसफाइ तथा दुबो रोप्ने र भवनभित्र सजावट, सुरक्षा उपकरण, प्रविधि जडान, फर्निचरसहितको लेआउट तयार गर्ने काम भइरहेको छ। भवनको बाहिर पुरातात्विक कलाकृति, स्मारकलाई जोगाउन कार्बन फाइबर प्रयोग गरिएको बताइएको छ।

New singhadurbar 9

कोरोनाको महामारीसँगै गरिएको लकडाउनको समयमा करिब १ महिना बन्द भए पनि त्यसपछि कामले गति लिएको थियो। पुनर्निर्माण प्रधिकरणले तीनै मोहडाको काम मंसिरभित्रै सक्ने लक्ष्य लिएको थियो। तर, सजावटसहित विद्युतीकरणको कामका कारण तीन महिना ढिला भएको हो।

सन् १९०३ मा निर्माण भएको भवन सन् २०१५ को भूकम्पका कारण जीर्ण बनेको थियो। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रुपमा बनाएका थिए। त्यहि भवन पछि मुलुककै प्रमुख प्रशासकीय केन्द्र बन्याे।

हेर्नुहोस् भिडिओमा :

फोटोफिचरमा थपः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .