कम्युनिष्ट अन्दोलनमा सहभागी भएको ४८ वर्षमा लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन्।
हाल नेकपा एमालेका पोलिट्व्युरो सदस्य रहेका ६८ वर्षीय गिरी २०३१ सालमा कम्युनिष्ट पार्टीको गतिविधिमा आवद्ध भएका थिए।
उनी २०३६ साालमा विद्यार्थी आन्दोलनमा सहभागी थिए। ०३७ सालमा मजदुर र शिक्षक आन्दोलनमा सहभागी भएका उनी ०३८ सालमा अखिल नेपाल किसान संगठनको इलाका र जिल्ला अध्यक्ष भए।
२०३९ सालमा क्रान्तिकारी बुद्धिजीव संघमा आवद्ध गिरी ०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य भएर भूमिगत बनेका थिए।
२०४७ सालमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य बनेका गिरी २०५६ सालमा जिल्ला उपसचिव र २०५८ सालमा कार्यवाहक सचिव बनेका थिए।
२०६१/०६६ जिल्ला सचिव (सचिव नै पार्टीको प्रमुख हुने व्यवस्था) र ०६६–०६९ सम्म जिल्ला अध्यक्ष बनेर ८ वर्ष एमाले रुपन्देहीको नेतृत्व गरे।
२०६९ मा एमालेको लुम्बिनी अञ्चल संगठन विभाग प्रमुख बनेका गिरी ०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका हुन्।
माओवादी केन्द्रसँग एकता हुँदा उनी नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बने। २०७८ मंसिरमा दसौं महाधिवेशनदेखि गिरी एमालेको पोलिटब्यूरो सदस्य छन्।
मुख्यमन्त्री बनेपछि लिला गिरीको यो चौथो राजकिय जिम्मेवारी हो। २०४९ सालमा उनी तात्कालिन शंकरनगर गाविसको अध्यक्ष बनेका थिए।
त्यसको ३० वर्षपछि प्रदेशको बागडोर सम्हाल्ने मौका पाएका हुन्। केन्द्रीय संसदमा जाने प्रयास असफल भएपनि प्रदेश सरकारमा एकपछि अर्को महत्वपूर्ण जिम्मेवारी भने पाएका छन्।
२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा गिरी रुपन्देही क्षेत्र नम्बर ३ मा कांग्रेसका बालकृष्ण खाणसँग पराजित बनेका थिए।
२०७४ साालको चुनावमा रुपन्देही क्षेत्र नम्बर २ 'क' बाट प्रदेश सांसदमा निर्वाचित गिरी शंकर पोखरेल नेतृत्वको सरकारमा साढे ३ वर्ष उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बने।
गत मंसिरमा भएको चुनावमा पुन त्यही क्षेत्रबाट विजयी भए। एमालेका सांसदहरुमध्ये गिरी मात्रै पोलिट्व्युरो सदस्य भएकाले उनलाई संसदीय दलको नेता बन्न सहज भयो।
माओवादी केन्द्रले कांग्रेसँगको गठबन्धन तोडेर एमालेसँग मिल्न आएपछि गिरीलाई मुख्यमन्त्री बन्ने अवसर प्राप्त भएको हो।
बुधबार माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद गरि ५८ सांसदको समर्थनमा लिला गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन्।
अघिल्लो कार्यकालमा शंकर पोखरेल २ पटक मुख्यमन्त्री नियुक्त भएका थिए। डेढ वर्ष यता कुलप्रसाद केशी मुख्यमन्त्री छन्।
गिरीको कार्यकाल केन्द्रमा एमाले र माओवादी गठबन्धन कहिलेसम्म टिक्छ त्यसमा भर पर्छ।
Shares
प्रतिक्रिया