विवादका कारण स्थगित भएको बाजुराको मतगणना सुचारु हुन सकेको छैन।
निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपनि बुधबार बोलाइएको सर्वदलीय बैठकमा नेकपा (एमाले) का प्रतिनिधि उपस्थित नभएपछि मतगणना सुचारु नभएको हो।
भोलि विहान पुनः सर्वदलीय बैठक बस्ने निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।
मंसिर ४ गते भएको निर्वाचन विवाद र हिंसात्मक घटनाका कारण मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतगणना सुरु गर्न निर्देशन दिएको छ।
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो।
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना भएका थिए।
मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए। बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै एमाले र कांग्रेसले निवेदन दिएको थियो।
नेकपा एमालेले १५ र नेपाली कांग्रेसले ८ ठाउँको मतदान पुनः गर्न निवेदन दिएका थिए। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो। बाजुरामा ७० वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेका छन्।
Shares
प्रतिक्रिया