ad ad

राजनीति


नेपाल अब भूपरिवेष्ठित देश रहने छैनः सी

नेपाल अब भूपरिवेष्ठित देश रहने छैनः सी

नेपालखबर
असोज २५, २०७६ शनिबार १६:१५,

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल अब भूपरिवेष्ठि राष्ट्र नरहने भन्दै केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन तत्काल सुरु हुने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा भएको भेटवार्ता र सोल्टीमा आयोजित रात्रीभोज दुबैमा सीले रेलमार्गको संभाव्यता अध्ययन सुरु हुने बताएका छन्।

शितल निवासमा राष्ट्रपति भण्डारी र सीबीच करिब ४० मिनेट वार्ता भएको थियो। राष्ट्रपति भण्डारीले केरूङ–काठमाडौं रेलमार्गलाई पोखरा र लुम्बिनीसम्म जोड्नु पर्ने दोहोर्याएपछि सीले पहिला केरुङ–काठमाडौं खण्डको संभाव्यता अध्ययन गर्नु पर्ने बताएका थिए।

‘राष्ट्रपति सीले शितल निवासमा भनेकै कुरा रात्रीभोजमा पनि दोहोर्याए’, त्यहाँ सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै भने, ‘नेपाल अब लामो समय भूपरिवेठित रहिरहने छैन, केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन तत्काल सुरु हुन्छ।’

राष्ट्रपति सीको भनाइ थप उद्धृत गर्दै उनले भने, ‘हामी चीन–नेपाल सीमापार रेलमार्गको संभाव्यता अध्ययन तत्कालै सुरु गर्नेछौं र केरुङ–काठमाडौं सुरुङ मार्गको परियोजना पनि अगाडि बढाउने छौं। हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न बढीभन्दा बढी नाका खोल्नेछौं। नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन हामी मद्दत गर्नेछौं।’

रात्रीभोजमा सीलाई स्वागत गर्दै राष्ट्रपति भण्डारीले आफ्नो सम्बोधनमा नेपाली जनताले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग जोडिएको देख्न चाहेको बताएकी थिइन।

राष्ट्रपति सीले नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने बताए। र, राष्ट्रपति भण्डारीले ‘लुम्बिनी बुद्धको जन्मस्थल हो’ भनेको स्मरण गर्दै उनले थपे, ‘चीनमा बुद्ध धर्म मान्ने मानिस विश्वमा सबैभन्दा बढी छन्। नेपालमा जस्तै चीनमा पनि अहिले बुद्ध धर्म स्थानीय धर्म बनेको छ। आगामी दिनमा बुद्ध धर्म मान्ने बढीभन्दा बढी चिनियाँले नेपालमा पर्यटन गर्नेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .