गुठी विधेयकका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्न काठमाडौं उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा मेयरहरुलाई बोलाएका छन्।
विधेयकका प्रावधानलाई लिएर काठमाडौं उपत्यकामा चर्को विरोध भइरहँदा प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसद तथा मेयरसँग अन्तरक्रिया गर्न लागेका हुन्।
‘प्रधानमन्त्री कार्यालयमा दिउँसो तीन बजे विधेयकका विषयमा छलफल गर्न निम्तो आएको छ,’ नेकपाका सांसद जीवनराम श्रेष्ठले नेपालखबरसँग भने, ‘हामी छलफलमा जाँदैछौं।’
विधेयकका प्रावधानले सदियौंदेखि चल्दै आएको धर्म संस्कृति एवं परम्परालाई प्रहार गरेको भन्दै फिर्ता लिन माग भइरहहेको छ। युरोप भ्रमणबाट फर्किने क्रममा उनले विधेयकका व्यवस्थाले समस्या पर्ने भए त्यसलाई सच्याउन सरकार तयार रहेको उल्लेख गरेका थिए।
विधेयकका विषयमा नेकपाभित्र दुई धार देखिएको छ। उपत्यकाका सांसदहरु त्यसलाई फिर्ता लिनुपर्ने पक्षमा छन्। उपत्यकामा बाहिरिका सांसदहरुले त्यसलाई पारित गर्नुपर्ने बताउँदै आएका छन्।प्रतिपक्षी कांग्रेसले समेत विधेयक फिर्ताको माग गरिरहेको छ।
गुठी विधेयकविरुद्ध आन्दोलनरत समूहले असार १० गते उपत्यका बन्दको आह्वान गरेको सन्दर्भमा प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसद तथा मेयरहरुसँग छलफल गर्न लागेका हुन्।
Shares
प्रतिक्रिया