जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुरले किर्ते कागजपत्र निर्वाचन आयोगमा दर्ता गराएको आरोप लगाएको छ।
प्रचार विभाग प्रमुख डम्बर खतिवडाले विज्ञप्ति जारी गर्दै २०७७ पुस ७ गतेको बैठकबाट निर्णय भएको भन्दै कार्यकारिणी हेरफेर, प्रमाणिकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार महन्थ ठाकुरलाई दिएको भन्ने विषय सत्य नभएको बताएका छन्।
पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण निर्णयहरु सोही दिन नै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरको हस्ताक्षरित विज्ञप्तिमार्फत सार्वजनिक गरिएको जसपाले बताएको छ।
उक्त दिनका निर्णयहरु कार्यकारिणी सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद सदस्यहरु, प्रदेश समिति, जिल्ला समिति लगायत सम्पूर्ण भ्रातृ संगठनहरुलाई समेत संयुक्त हस्ताक्षरद्वारा परिपत्रसमेत जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने प्रस्ताव उकत बैठकको कार्यसूचीमा नै नभएको र त्यस्तो निर्णय नभएको पनि खतिवडाले बताएका छन्।
'हुँदै नभएको निर्णयलाई भएको भनि २०७८ असार १ गते झुठा विवरण लेखि किर्ते, जालसाजी गरी निर्णय भएको भनि महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन्। निर्वाचन आयोग, पार्टी पंक्ति, र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय कार्य हो,' विज्ञप्तिमा भनिएको छ।
ठाकुरले शुक्रवार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युटसहितको पत्र दर्ता गराएका थिए।
शुक्रबार यादवले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका थिए। यस अघि निर्वाचन आयोगले यादव र ठाकुरले एक अर्कालाई गरेको कारबाहीलाई स्वीकार गरेको थिएन।
प्रतिक्रिया