२०७४ सालमा भएको निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक सत्तामा फर्केको छ।
कर्णाली प्रदेशमा दुई जना मन्त्री पठाएर कांग्रेस प्रदेशबाट सत्तारोहणको सुरुवात गर्ने भएको छ।
चार वर्षअघि भएको निर्वाचनपछि केन्द्र र ७ वटा सबै प्रदेशमा समेत प्रतिपक्षीमा रहेको नेपाली कांग्रेस पहिलोपटक प्रदेशमार्फत् सत्तामा प्रवेश गरेको हो।
संघीय संसद र प्रदेश सभाहरुको निर्वाचन गरेर सत्ता हस्तान्तरण गरेपछि कांग्रेस निरन्तर सत्ताबाहिर छ।
प्रदेश सरकारसहितको संघीय संरचनामा सरकारहरु बनेपछि कांग्रेस पहिलोपटक सहभागी हुने भएको हो।
कम्युनिष्टहरुको गढ भनेर चिनिने र कांग्रेस सबैभन्दा कमजोर देखिएको प्रदेश कर्णालीबाट सरकारमा उसको पहिलो ‘इन्ट्री’ भएको छ।
नेपाली कांग्रेसले दुईवटा मन्त्रालयको नेतृत्व गर्ने गरी कर्णाली प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।
कांग्रेसले कर्णाली प्रेदशमा सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालयको नेतृत्व गर्नेछ।
प्रदेश सांसदहरु यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउने तयारी रहेको जानकार स्रोतहरुको भनाइ छ।
मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैशाखमा विश्वासको मत लिँदा कांग्रेसले उनको पक्षमा मतदान गरेको थियो।
कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएपछि भोलि शुक्रबार मन्त्रीको शपथ हुने मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ ७ गते माओवादी केन्द्रसहितको गठबन्धनको सहयोगमा आफ्नो पक्षमा संसदको बहुमत जुटाएर प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गरेका थिए।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको समेत दाबी परेको र दुवैमा भरपर्दो आधार नदेखिएको भन्दै संसद नै विघटन गरेकी थिइन्। सो निर्णयविरुद्ध देउवासहितका १ सय ४६ सांसद अहिले सर्वोच्च अदालत पुगेका छन्।
यो दिनः
दुई मन्त्रालय लिएर कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै नेपाली कांग्रेस
प्रतिक्रिया