विपक्षी दलहरुको मोर्चाबन्दीलाई टक्कर दिन प्रधानमन्त्री केपी ओलीले राजवादीदेखि विप्लवसम्मलाई समावेश गरेर गठबन्धन बनाउन खोजेका छन्। प्रधानमन्त्री ओलीले निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव उनीहरुसामु राखेका छन्।
विघटित प्रतिनिधिसभामा एक स्थान मात्रै जितेको राप्रपालाई पनि ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका छन्। तर, सरकारमा सामेल हुन राप्रपाका लागि निकै कठिन हुने सो पार्टीका नेताहरुले बताएका छन्।
कांग्रेस नेतृत्वमा रहेको विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरुद्ध सुरु गरेको संयुक्त संघर्षलाई चुनावसम्म निरन्तरता दिने तयारी गरिरहेका बेला त्यसको ‘काउन्टर’मा ओलीले आफ्नो नेतृत्वमा अर्को गठबन्धन बनाउन लागेका हुन्।
'राष्ट्रियसभाको उप-निर्वाचनमा एमालेको उम्मेदवारलाई मतदान गरेको विषयमै पार्टीभित्र असन्तुष्टि छ। बदनामीको भारी बोक्नका अहिले सरकारमा जानु हुँदैन भन्नेहरुको संख्या ठूलो छ,' राप्रपा अध्यक्ष कमल थापानिकट एक नेताले भने, 'अहिले नै चुनावमा मिलेर जाने विषयलाई नकार्न सकिँदैन। तर अहिले यसै भन्नसक्ने अवस्था छैन।'
पछिल्लो समय थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा ओली नेतृत्वमा सरकारमा जाने चर्चा चलेको छ।
यसअघि थापाले बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मत दिन अन्य दुई अध्यक्षहरुलाई सहमत गराएका थिए।
तर, सरकारमै सहभागिताको विषयमा सहमति जुट्न कठिन रहेको ती नेताले बताए।
'राप्रपा नेपाल हुँदा पार्टी प्राइभेट लिमिटेड जस्तो थियो। थापाले निर्णय गरेपछि कार्यान्वयन हुन्थ्यो। अहिले पार्टनशीप बिजनेस जस्तो छ। सबै साझेदारबीच सहमति नभई हुन्न,' राप्रपाका ती नेताले भने, 'चुनावको मुखमा पार्टीभित्र असन्तुष्टि बढाउने वा विभाजनमा जानेगरी नेताहरुले पक्कै पनि निर्णय गर्नु हुन्न भन्ने छ। तर कमल थापाले बढी जोड गरेर सरकारमा गए पार्टी फुट्छ।'
सरकारमा जाने निर्णय भइहाले पनि थापाभन्दा अन्य नेता अघि सर्ने सम्भावना रहेको उनले बताए।
दुई वर्षअघि एकीकरण भएपनि अध्यक्षत्रयबीच रहेको शीतयुद्धको कारण राप्रपाको सबै संरचनाले पूर्णता पाउन सकेको छैन। विवादको कारण राप्रपाले हालसम्म पदाधिकारी तोक्न सकेको छैन।
'थापाको प्रधानमन्त्री ओलीसँग राम्रो सम्बन्ध छ र अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीको पनि राम्रै छ। तर पशुपति शम्शेरको झुकाव भने देउवातर्फ छ। तर धेरै नेताहरु सरकारमा सहभागी हुन नहुने पक्षमा हुनुहुन्छ' ती नेताले भने, 'स्थापना दिवस (जेठ १५)का दिन आयोजित भर्चुअल कार्यक्रममा पनि यही मत झल्किन्थ्यो।'
'राणा र लोहनी दुवै उधारोमा सहमति गरेर निर्णय गर्ने नेता होइनन्,' उनले थपे।
अध्यक्ष थापाले राप्रपा सरकारमा सहभागी भए दीपक बोहोरालाई पठाउन खोजेका छन्। कतिपय नेताहरुले भने विघटित प्रतिनिधिसभामा विजयी एक मात्र सांसद राजेन्द्र लिङदेनलाई अवसर दिनुपर्ने पक्षमा छन्।
'तर उता प्रधानमन्त्री ओलीको चाहाना भने विक्रम पाण्डेतर्फ देखिन्छ। उहाँले चितवनको चुनाव पनि हेरिरहनु भएको छ,' ती नेता भन्छन्।
तर, राप्रपाका थुप्रै नेता नेता सर्वोच्च अदालतले संसद् विघटनलाई सदर गरेपनि कात्तिकमा चुनाव हुनेमा सशंकित छन्। राप्रपाले चुनावअघि सबैलाई खोप लगाउनु पर्ने माग गर्दै विज्ञप्ति निकालेको छ।
प्रतिक्रिया