भारतीय जनता पार्टी (बीजेपी)को विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाइप्रति आपत्ति जनाउँदै उनको आलोचना गरेका छन्।
भारतीय पत्रिका द हिन्दूमा पूर्वप्रधानमन्त्री भट्टराई र अर्का एक लेखक अतुल के ठाकुरको संयुक्त नाममा प्रकाशित लेखमा उल्लेखित एक अंशप्रति उनले असहमति जनाएका हुन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा रहेको तथाकथित मार्क्सवादी–लेनिनवादी पार्टीले नेपालका हिन्दू राजावादी शक्तिहरु र भारतको राष्ट्रिय स्वयंसेवक संघ (रासस) सँगको साँठगाँठमा काम गर्नु वास्तवमै अहिलेको समय नसुहाउँदो काम हो,’ भट्टराई र ठाकुरद्वारा लिखित ‘नेपालको लोकतन्त्र खतरामा’ शीर्षकको सो लेखमा उल्लेख छ।
सोहि भनाइप्रति संकेत गर्दै बीजेपी नेता चौथाइवालेले भट्टराईको आलोचना गरेका हुन्।
‘नेपालको आन्तरिक राजनीतिबारे टिप्पणी गर्न भट्टराई स्वतन्त्र छन् तर रासस र भारतबारे उनले गरेको टिप्पणीले देखाउँछ उनी अझै पनि जेएनयू (दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटी) कै सपनामा बाँचिरहेका छन्,’ जवाफमा चौथाइवालेले भनेका छन्, ‘एक कट्टर कम्युनिष्टजस्तै, बाबुरामजीले आफ्ना असफलताका लागि सबैलाई दोष दिइरहेका छन्।’
सो लेख दि हिन्दू नामक अंग्रेजी पत्रिकामा आज शनिबार प्रकाशित भएपछि चौथाइवालेले सामाजिक सञ्जाल ट्विटरमार्फत् त्यसमाथि प्रतिक्रिया जनाएका हुन्।
डा. भट्टराईले सन् १९८६ मा भारतको जवाहरलाल नेहरु युनिभर्सिटीबाट क्षेत्रीय विकास योजनामा विद्यावारिधी गरेका हुन्।
केहि समययता भारतको सत्तारुढ दल बीजेपीका नेता चौथाइवाले र ओली नेतृत्वको एमाले नेताहरुसँग राम्रो सम्बन्ध विस्तार भइरहेको देखिन्छ।
उनी गत मंसिरमा तत्कालीन नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए।
सो भ्रमणका बेला उनले प्रधानमन्त्री केपी शर्मा ओली र अन्य प्रमुख नेताहरुसँग भेटवार्ताहरु गरेका थिए।
यो पनिः
बीजेपीका विदेश विभाग इन्चार्ज चौथाइवाले र राजदूत आचार्यबीच भेटवार्ता
Shares
प्रतिक्रिया