ad ad

राजनीति


एमाले एकताबारे विष्टको विचारमा पौडेलको प्रतिक्रियाः बरु बालुवा पेलेर तेल निस्केला, तर...

एमाले एकताबारे विष्टको विचारमा पौडेलको प्रतिक्रियाः बरु बालुवा पेलेर तेल निस्केला, तर...

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १२:२२,

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीमा एकता कायम गर्न अन्तिम क्षणसम्म प्रयत्न जारी राख्ने बताइरहँदा एमालेकै अर्का नेता डा. विजय पौडेलले भने यो काम बालुवा पेलेर तेल निकाल्नुजत्तिकै असम्भव भएको टिप्पणी गरेका छन्।

एमालेका स्थायी कमिटी सदस्य विष्टले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत पार्टी एकताप्रति आशा व्यक्त गर्दा पोलिटब्युरो सदस्य डा. पौडेलले त्यसमा प्रतिक्रिया जनाउँदै बरु स्यालको सिङ भेटिएला तर सहमति भेट्न सम्भव नरहेको विचार व्यक्त गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका नेता विष्टले लेखेका छन्, ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ।’

जसमा नेता डा. पौडेलले टिप्पणी गरेका छन्, ‘बरु बालुवा पेलेर तेल निस्केला, स्यालको सिङ भेटिएला, बाघले समाएको बाख्रोमाथि दया गर्ला तर...!’

दुवै नेता एमालेको माधवकुमार नेपाल पक्षका हुन्।

आफ्नो समूहका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उनका पक्षमा हस्ताक्षर गरे पनि विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईले पार्टी एकताका लागि भनेर गरेनन्।

तर बुधबार विष्टसहित नेपाल पक्षका २१ स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘प्रतिगामी’ कदमविरुद्ध संयुक्त संघर्ष जारी राख्ने जनाएका छन्। त्यसको भोलिपल्ट बिहीबार नेता विष्टले पार्टीलाई २०७५ जेठ २ अर्थात् नेकपा माओवादी केन्द्रसँग एकता हुनुअघिकै अवस्थामा फर्काउन अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

ऋषि कट्टेलले आफूले पहिले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा नामको पार्टीले वैधानिकता पाउनुपर्ने माग गरी २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदालतले गत फागुन २३ गते उनकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको दर्ता बदर गरिदिएको हो। साथै यसमा मिसिएका पहिलेकै दुई दल अस्तित्वमा आएको फैसलासमेत गरेपछि एमाले पुरानै अवस्थामा फर्किएको हो।

तर प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले फैसलाको ५ दिनपछि गत फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यको मात्र बैठक राखेर नेकपा छँदा प्रचण्डसँग मिलेर आफ्नो विरोध गरेको माधव नेपाल पक्षलाई पार्टीमा पूरै जिम्मेवारविहीन बनाउँदै तत्कालीन गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रबाट आफ्नो समूहमा आएका २३ नेतालाई केन्द्रीय सदस्य बनाएपछि एमालेभित्र कलह बढेको हो।

यसबीच दुई पक्षले पटकपटक वार्ता गरी पार्टी एकताका लागि कार्यदलसमेत बनाएका थिए। तर पछिल्लो समय प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र नयाँ सरकार गठनका लागि बाटो खुला गर्ने भनेपछि संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। त्यस क्रममा विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको दाबी गर्दा माधव नेपाल पक्षका समेत २६ सांसदले समर्थन गरेपछि एमाले एकता प्रयास बिग्रिएको हो।

तर नेपाल पक्षका गोकर्ण विष्टलगायत केही नेता अझै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर एकता जोगाउन सकिन्छ कि भन्ने प्रयासमा छन्। 

उता देउवाले बहुमत १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पद दाबी गरे पनि प्रधानमन्त्री ओलीले समेत आफूसँग १५३ सांसदको समर्थन रहेको भनेपछि राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति दुवैको दाबी खारेज गरेकी छन् भने त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार दोस्रोपटक प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेकी छन्।

जसविरुद्ध अहिले सर्वाेच्च अदालतमा विपक्ष दलका समेत २६ रिट दर्ता भएका छन्। तीमध्ये १९ रिटको सुनुवाइ आज सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .