ad ad

राजनीति


सभामुखलाई कानुनविदहरुले दिए यस्ता सुझाव

सभामुखलाई कानुनविदहरुले दिए यस्ता सुझाव

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १२:६,

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा कानुनविद्हरुसँग छलफल गरेका छन्।

सभामुख सापकोटाले बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रतिनिधि सभा विघटन पछिको अवस्था र सभामुखको भूमिकाको सम्बन्धमा कानुनविद् तथा न्यायिक क्षेत्रका विज्ञहरुसँग छलफल गरेका हुन्।

छलफलका क्रममा कानुनविद्हरुले प्रतिनिधि सभा विघटनको सम्बन्धमा आफ्नो धारणा राख्दै सभामुखलाई संविधान अनुरुप कदम चाल्न सुझाव दिएका छन्।

संविधानविद् चन्द्रकान्त ज्ञवालीले सरकार संसदप्रति उत्तरदायि हुनुपर्ने भएपनि संसद प्रति उत्तरदायि नभएको बताए। संसद विघटन गर्नुपूर्व सभामुखसँग परामर्श लिनुपर्ने संवैधानिक दायित्व भएपनि प्रधानमन्त्रीले संवैधानिक दायित्व पुरा नगरेको उनले बताए। सभामुखले संविधान र कानुन अनुरुप चल्नुपर्ने र संसदमार्फत् हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

संविधानविद् टिकाराम भट्टराईले संविधानमा सभामुखलाई पनि विशेष अधिकारहरु दिईएको उल्लेख गर्दै सोही अधिकारहरुको आधारमा संसद बैठक बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने बताए। यसअघि नै सर्वोच्च अदालतले कोही व्यक्तिको लहड र सनकमा प्रतिनिधि सभा विघटन गर्न नसकिने फैसला गरिसकेकाले सर्वोच्चको सोही आदेश अनुसार पनि प्रतिनिधि सभा विघटन हुन नसक्ने बताए।

संविधानविद् भिमार्जुन आचार्यले प्रतिनिधि सभा विघटन हुनुमा स्वयं प्रतिनिधि सभा र राजनीतिक दलहरु जिम्मेवार रहेको बताए। यसअघि नै प्रतिनिधि सभा विघटनपश्चात् पुनर्स्थापना भएपछि संसद र राजनीतिक दलहरुको भूमिका प्रभावकारी नभएको उनको भनाई छ। प्रतिनिधि सभा विघटन गर्दा संसद र प्रतिपक्षी मुकदर्शक बनि जालझेल र षड्यन्त्रलाई रोक्न नसकेको उनले बताए।

प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै असंवैधानिक कदमका पछि नै राजनीतिक दलहरु लागेको उनको जिकिर छ।प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म कानुनी र संवैधानिक रुपमा सभामुखले केही गर्न नसक्ने आचार्यले बताए।

पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रपति, संसद, न्यायपालिकाको अधिकार पनि प्रयोग आफैँले प्रयोग गर्न खोजेको बताए। प्रधानमन्त्रीले कानुन पनि आफैँले बनाएर राज्य सञ्चालन गरेको उनको भनाई छ। संसद जिवित छ भन्ने कुरा देखाउन सभामुखले आफ्नो सक्रियतालाई बढाउनुपर्नेमा उनको जोड छ। प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा पनि उनले विश्वास व्यक्त गरे।

सभामुखले संसदीय समितिका सभापति, नागरिक समाज, पत्रकार र राजनीतिक दलहरुको छलफललाई तिव्रता दिनुपर्ने उनले सुझाव दिए।

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को महामारीको बेलामा चुनाव गर्ने भनेकाले उनलाई दुरुत्साहनको मुद्दा चलाउनुपर्ने धारणा राखे। प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७६(३) बमोजिम नियुक्ति गर्नु गलत भएको र ओली त्यसको लागि योग्य मान्छे नभएको उनको टिप्पणी छ। सभामुखले संविधानको पालना र संरक्षण गर्ने बाहेक कुनै काम गर्नु नहुने उनको भनाइ छ। सभामुखले यस्तै किसिमका अन्तरक्रिया गरेर जनतालाई सुसूचित गराउने ध्यान दिनुपर्ने उनले बताए।

राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले बहुमत सांसदहरुले प्रतिनिधि सभा हामी चलाउन चाहान्छौँ भनि हस्ताक्षर नै गरिसकेपछि विघटन गर्न नपाइने बताए। सांसदहरुले हामी सरकार बनाउन सक्छौँ भनुञ्जेलसम्म संसद जिवित रहने उनले उल्लेख गरे। सरकारले विभिन्न असंवैधानिक गतिविधि गर्दै आएको उनको भनाई छ। महामारीको बेलामा चुनावको घोषणा गरी जनताको दुःख पीडालाई बेपर्वाह गरिएको उहाँले बताए। सभामुखसँग संसदको पक्षमा जनमत सिर्जना गर्नुपर्ने उत्तरदायित्व रहेको उनले औँल्याए।

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधानको धारा ७६ प्रधानमन्त्री र राष्ट्रपतिकाबीचमा हुने काम कारबाही नभएको स्पष्ट पारे। धारा ७६ प्रतिनिधि सभा र राष्ट्रपति बिच हुने काम कारबाही भएको उनले बताए। यस सम्बन्धमा सभामुखले सम्पूर्ण कुरा लेखेर राष्ट्रपतिलाई दिनुपर्ने पनि उनले बताए। सभामुखले बहुमत सांसदहरुको बैठक पटक पटक बसालेर त्यसको सम्पूर्ण कुराहरु राष्ट्रपतिललाई पठाउँदै जानुपर्ने र जनतालाई सुसूचित गर्दै जानुपर्ने विचार उनले व्यक्त गरे।

सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद्हरुसँगको छलफलले आफूलाई सहयोग पुर्‍याएको बताए। पुनर्स्थापित संसदमा प्रभावकारी भूमिका हुन नसकेको उनले स्वीकारे। यद्यपी अहिले पहलकदमी बढको उनको भनाई छ। सभामुख सापकोटाले संविधान र प्रतिनिधि सभाको नियमावली अनुसार नै आफू चल्ने स्पष्ट पारे।

जनताले प्रतिनिधि सभा सदस्यलाई सार्वभौम अधिकार सुम्पिएको भन्दै उनले सो अधिकार आफुबाट अभिव्यक्त हुनुपर्ने बताए। नेपाली जनताले दिएको सो अधिकार असाधारण परिस्थितिमा आफूले प्रयोग गर्ने उनले बताए। उनले राजनीतिक पार्टीहरुमा नै जनताको शक्ति केन्द्रित भएर अभिव्यक्त हुने भएकाले आफूले राजनीतिक पार्टीहरुसँग छलफल थाल्नेपनि उनले जानकारी दिए।

आफूहरु प्रतिनिधि सभा सञ्चालनमा दत्तचित्त भएर लागिरहेको उल्लेख गर्दै सभामुख सापकोटाले देश अध्यादेशबाट चलाउन खोजिएकोप्रति असन्तुष्टि पनि व्यक्त गरे। अध्यादेशबाट चलाउन खोज्नु बेठिक भएको उनको भनाइ छ। उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको र प्रतिनिधि सभाको अधिकारको हनन भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .