राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले संविधान र लोकतन्त्र संकटग्रस्त भएको बताएका छन्।
राप्रपा अध्यक्ष राणाले सबै मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव र एकता कायम राख्नु पर्ने बताएका छन्। वैशाख ११ तर्फ फर्केर १२ बुँदे सहमतिको जडबाट दीर्घ समाधान खोज्नु पर्नेमा उनले जोड दिएका छन्।
सामान्य टालटुल र ढाकछोपले विद्यमान संकट समाधान नहुने उनको भनाइ छ।
‘कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले राज्यव्यवस्थाप्रति जनताको विश्वास टुटेको छ,’ बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले बुधबार भने।
‘आफूलाई विधीभन्दा माथि राख्ने प्रवृतिले संविधान, लोकतन्त्र संकटमा छ। टालटुल, ढाकछोप समाधान होइन। यसर्थ वैशाख ११ तर्फ फर्केर १२ बुँदेकै जडबाट दीर्घ समाधान खोज्नु जरुरी छ।’
शान्तिका अग्रदुत बुद्धको शरणमा सम्राट अशोकले शान्ति, सौर्य प्राप्त गरेको दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘कलिंगाको युद्धबाट अशोकको मन परिवर्तन भएझैं बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा अहम, आग्रह त्याग्ने, सबै नेपाली मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव, एकता कायम गर्ने ज्ञान प्राप्त होस्। मंगलमय शुभकामना।’
प्रतिक्रिया