ad ad

राजनीति


बहुमतको हस्ताक्षर बुझाएपछि राष्ट्रपति–शीर्ष नेताबीच भयो यस्तो संवाद

बहुमतको हस्ताक्षर बुझाएपछि राष्ट्रपति–शीर्ष नेताबीच भयो यस्तो संवाद

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १२:२७,

राष्ट्रपति कार्यालयमा १४९ जना सांसदको हस्तारक्षरसहित प्रधानमन्त्री पदको दाबी प्रस्तुत गरेपछि पाँच जना शीर्ष नेताले यसलाई स्वाभाविक प्रक्रियामा अगाडि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।

शुक्रबार दिउँसो १४९ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका नेताले राष्ट्रपति भण्डारीसँग छलफल गरेका हुन्।

कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा तथा एमालेको माधव नेपाल समूहका १४९ जनाको हस्ताक्षरसहित बहुमत सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन्।

राष्ट्रपतिसँग भएको छलफलमा देउवाले आफू बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गर्न आएको र राष्ट्रपतिले प्रक्रिया अगाडि बढाउने विश्वास रहेको बताएका थिए।

‘म १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्न आएको छु, यसलाई प्रक्रियामा अगाडि बढाउनुहुन्छ भन्ने विश्वास छ’, देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने।

प्रचण्डले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएपछि केपी ओलीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको प्रसंग उठाउँदै आफूहरू बहुमत सांसदको हस्ताक्षरसहित आएको राष्ट्रपतिलाई बताए।

‘हामी बहुमत सांसदको हस्ताक्षरसहित आएका छौँ, यसलाई सहज रुपमा अगाडि बढाउनुहुन्छ भन्ने हाम्रो विश्वास छ’, प्रचण्डले भने।

राष्ट्रपतिसँगको छलफलमा जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरू जसपाको कार्यकारिणी समितिको बहुमतबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयसहित आएको बताएका थिए।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा सुवेदीले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने पार्टीको निर्णयअनुसार आएको बताइन्।

छलफलमा एमालेका वरिष्ठ नेता माधव नेपालले संविधानअनुसार सांसदहरूले स्वतन्त्र रुपमा हस्ताक्षर गर्न सक्ने तर्क गर्दै आफ्नो पक्षका २७ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेको बताए।

‘संविधानअनुसार सांसदहरूले स्वतन्त्र रुपमा विवेक प्रयोग गर्न पाउँछन्, हामी २७ जना सांसदले हस्ताक्षर गरेका छौँ’, राष्ट्रपति भण्डारीसमक्ष नेपालले भने, ‘१४९ जनाको हस्ताक्षर छ, अब यसलाई प्रक्रियामा अगाडि बढाउनु राम्रो हुन्छ।’

नेताहरूको धारणा सुनिसकेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीले पनि १५३ जनाको सहमर्थन रहेको दाबी गरेको बताइन्।

‘प्रधानमन्त्रीले पनि १५३ जनाको समर्थन रहेको दाबी गर्नुभएको छ, म अब महान्यायाधिवक्तासँग छलफल गरेर निर्णयमा पुग्छु’, भण्डारीले भनिन्।

त्यसपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अलि कडा रुपमा प्रस्तुत भए।

‘१४९ जना सांसदको हस्ताक्षरसहित हामी आएकाले अब राष्ट्रपतिले यसमा यताउति सोच्न मिल्दैन’, श्रेष्ठले प्रश्न गरे, ‘विश्वासको मत लिन नसक्ने प्रधानमन्त्रीले बहुमत छ भनेर कसरी दाबी गर्न मिल्छ?’

अन्तमा प्रचण्डले राष्ट्रपति भण्डारीलाई भने, ‘सल्लाह त गर्नुहोस्, तर हामी बहुमतको हस्ताक्षरसहित आएकाले यसलाई नै अगाडि बढाउनुहुन्छ भन्ने विश्वास छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .