विपक्षी दलबाट आफैंलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएपछि नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल अहिले आफूनिकट सांसदसँग छलफलमा जुटेका छन्।
यसअघि शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको विपक्षी दलको बैठकमा कांग्रेस र माओवादी केन्द्रले बहुमत जुटाउन सक्ने भए तपाईं नै प्रधानमन्त्री बन्नुस् भनेपछि नेता नेपाल आफ्ना सांसदसँग छलफलमा बसेका हुन्।
एक सांसदका अनुसार सिंहरदबारमा जारी छलफलमा नेता नेपालले दुइटा विकल्प प्रस्तुत गरेका छन्।
उनले भने, ‘कि आफू प्रधानमन्त्री बन्न बहुमत जुटाउने कि आफूपक्षीय सांसदलाई सामूहिक राजीनामा गराई देउवालाई बहुमत पुर्याउन सजिलो बनाउने।’
यो पनि : माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे देउवा निवासमा छलफल
यसअघि पनि आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बेला नेपाल पक्षका २८ सांसद संसद् बैठकमै उपस्थित भएका थिएनन् भने ओली बहुमत ल्याउन नसकेर पदबाट हट्न बाध्य भएका थिए।
त्यसपछि विपक्षी दलले बहुमतको सरकार बनाउने बेला नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरे पनि अन्तिम क्षणमा पार्टीमा सहमति कायम गर्ने भन्दै प्रधानमन्त्री ओली राजीनामा रोक्न सफल भएका थिए। जसले गर्दा विपक्षी दलले बहुमत पुर्याउन सकेनन् भने संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताका आधारमा पुनः ओली नै प्रधानमन्त्री बनेका थिए।
त्यसरी दोस्रोपटक प्रधानमन्त्री बनेका ओलीले पुनःनियुक्तिको ३० दिनभित्र फेरि संसदमा विश्वासको मत लिनुपर्ने थियो। तर त्यसभन्दा अघि नै र राजीनामै नदिई ओलीले राष्ट्रपतिमार्फत फेरि नयाँ सरकार गठनका लागि आह्वान गराएका हुन्। जसको समयसीमा आजै अपराह्न ५ बजे सकिँदैछ।
यसैकारण ओलीको विकल्प खोज्न अहिले उनकै पार्टी एमालेको नेपाल पक्षसमेत विपक्षी दलसँग छलफलमा जुटेको हो।
कांग्रेस र माओवादी केन्द्रका सांसद जुट्दा बहुमतका लागि जति जना आवश्यक पर्छ, त्यति आफ्नो पार्टी एमालेबाट सांसद आफ्ना पक्षमा तान्न सके आफैंलाई प्रधानमन्त्री बन्न विपक्षी दलले प्रस्ताव गरेपछि नेता नेपाल आन्तरिक छलफलमा सक्रिय भएका हुन्।
यो सम्भव नभए बरु आफ्ना पक्षका सांसदलाई सामूहिक राजीनामा गराई संसदको कूल सदस्य संख्या घटाउने र त्यसअनुरूप देउवालाई कमै संख्यामा बहुमत पुग्ने अवस्था सिर्जना गर्ने तयारीमा नेता नेपाल लागेका हुन्।
Shares
प्रतिक्रिया