ad ad

राजनीति


रेशम चौधरीबारे सांसद पौडेलले भनिन्ः बहुमत जुटाउन अपराधीलाई माफी दिने कसरत

रेशम चौधरीबारे सांसद पौडेलले भनिन्ः बहुमत जुटाउन अपराधीलाई माफी दिने कसरत

नेपालखबर
चैत १८, २०७७ बुधबार ८:३४,

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद रेशम चौधरीलाई माफी दिने तयारीबारे सरकारको जवाफ माग गरेकी छन्।

बुधबारको संसद बैठकमा धारणा राख्दै पौडेलले संसदमा बहुमत पुर्‍याउनको लागि अपराधमा संलग्न भएकालाई माफी दिने कुरा स्वीकार गर्न नसक्ने बताएकी हुन्।

‘टीकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई अहिले सरकारले माफी दिने भन्ने आएको छ’, पौडेलले संसदमा भनिन्, ‘यसबारे सरकारको धारणा स्पष्ट गर्नको निम्ति सभामुखमार्फत अनुरोध गर्न चाहन्छु।’

टीकापुर घटनामा २ वर्षको बच्चालाई समेत गोली हानेर हत्या गरिएको बताउँदै अत्यन्त बर्बर, अमानवीय र जघन्य हत्यामा संलग्नलाई उन्मुक्ति दिन नहुने उनको भनाइ छ।

‘यो हत्याकाण्डलाई लिएर अहिले राजनीतिक कार्य भनेर माफी दिनु कदापि सही हुन सक्तैन’, पौडेलले भनिन्।

अहिले यसलाई राजनीतिक मुद्दा बनाइनुपर्छ भनेर आएका विचार पनि सही भन्न नसकिने उनको भनाइ छ।

‘अहिले नेकपाको फुटपछि संसदमा कुनै पनि दलको बहुमत छैन, सरकार बनाउन, टिकाउन बहुमत पुर्‍याउनको निम्ति अहिले कतिपय पक्षहरुबाट रेशम चौधरीको मागलाई माफी दिन तत्परता देखाएको कुरा आइरहेको छ’, पौडेलले भनिन्, ‘यसो भएमा कानुन र न्यायको अवहेलना हुनेछ, अराजनीतिक र सिद्धान्तहीन प्रकारको यो सौदावाजी हुनेछ।’

पूर्वनेकपा फुटपछि संसदमा कुनै पनि दलको बहुमत नभएको बताउँदै उनले बहुमत पुर्‍याउनकै लागि रेशम चौधरीलाई माफी दिनलागेको दाबी गरिन्।

यसो भएमा कानुनन र न्यायको अवमूल्यन हुने, नराम्रो नजिर स्थापित हुने भएकाले सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ।

थारुहरुमाथि अन्याय भएको बताउँदै उनले टीकापुर घटनामा जघन्य हत्या भएकोले त्यसलाई थारु आन्दोलनसँग मिलाउनु राम्रो नहुने बताइन्।

थारु नेपालको प्राचीन जाति भएकाले उनीहरुमाथि सदीयौँदेखि शोषण, उत्पीडन र भेदभाव हुँदै आएको उनको भनाइ छ।

‘यसका विरुद्धका उनीहरुको मुक्ति आन्दोलनलाई हामीले दृढतापूर्वक समर्थन गर्दछौँ’, उनले भनिन्, ‘तर, टीकापुर घटनाको नाममा नाबालकको हत्या जघन्य हत्या थियो। त्यसलाई थारु मुक्तिको आन्दोलनसँग जोड्न मिल्दैन।’

उनले यो घटनाका जिम्मेवार व्यक्तिलाई कानुनबमोजिम कडाभन्दा कडा सजाय दिनुको विकल्प नरहेको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .