ad ad

राजनीति


ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष पनि सहभागी हुने !

ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष पनि सहभागी हुने !

नेपालखबर
चैत १२, २०७७ बिहिबार ११:३४,

नेकपा एमालेका वरिष्ठ नेता झनाथ खनाल र माधवकुमार नेपाल पक्ष शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ।

पार्टी भित्रको अन्तरविरोधको कारण ओलीले बोलाएका बैठक निरन्तर रुपमा बहिष्कार गर्दै आएको नेपाल–खनाल पक्षले शुक्रबार दिउँसो बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुने संकेत गरेका हुन्।

‘हाम्रो संसदीय दल बहिष्कार गर्ने नीति छैन। बैठकमा जान चाहने सांसदलाई कुनै रोकटोक छैन’, नेपाल–खनाल पक्षका सांसद जीवनराम श्रेष्ठले नेपालखबरसँग भने, 'हामीले संसदीय दलको बैठक बालुवाटारमा नभई सिंहदरवारस्थित संसदीय दलमा वा संसद भवन नयाँ बानेश्वरमा राख्दा राम्रो हुन्छ भन्ने धारणा राखेका हौँ।’

पछिल्लो पटक गत शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठक बसेको थियो। उक्त बैठकले संसदीय दलको संशोधन विधान पारित गरेको थियो। तर, नेपाल पक्षले पहिले विधान केन्द्रीय कमिटीबाट पारित हुनुपर्ने बताउँदै आएको छ।

फागुन २८ गते प्रधानमन्त्री ओलीले आफू पक्षका केन्द्रीय सदस्यहरुलाई मात्रै बोलाएर विधान परिवर्तन र केन्द्रीय कमिटीको विस्तार गरेपछि नेपाल पक्षले बैठकहरु बहिष्कार गर्न थालेको हो।

शनिबारको संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु ३८ जना सांसदले पत्र लेख्दै पार्टीभित्रको विवाद पहिले सम्बोधन गर्न माग गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकका तीन एजेन्डा तह भएका छन्। बैठकमा आगामी बजेट, पार्टी एकता र ‌संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

शुक्रबार नै नेपाल–खनाल पक्षले पार्टीभित्र देखिएको विवादमा कसरी समाधान गर्ने भन्नेबारे छलफल गर्न आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .