ad ad

राजनीति


ढाकामा राष्ट्रपति भण्डारीलाई रातो कार्पेट, समकक्षी हमिदले गरे विमानस्थलमै स्वागत

ढाकामा राष्ट्रपति भण्डारीलाई रातो कार्पेट, समकक्षी हमिदले गरे विमानस्थलमै स्वागत

नेपालखबर
चैत ९, २०७७ सोमबार ६:३६,

पहिलोपटक मित्रराष्ट्र बंगलादेश पुगेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनका समकक्षी अब्दुल हमिदले विमानस्थलमै पुगेर पुष्पगुच्छासहित स्वागत गरेका छन्।

बंगलादेशी मिडियाहरुका अनुसार राष्ट्रपति हमिदले ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा सवा १० बजे स्वागत गरेका थिए।

बंगलादेशी राष्ट्रपति हमिदको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि भण्डारी बंगलादेश पुगेकी हुन्।

राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले २१ तोपको सलामी दिएको थियो। सो क्रममा दुवै देशको राष्ट्रियगान बजाइएको थियो। राष्ट्रपति भण्डारीले सो क्रममा परेड अवलोकन गर्नुका साथै दुवै पक्षले आआफ्ना डेलिगेसन टोलीलाई परिचय गराएका थिए।

राष्ट्रपति भण्डारीसँगै उनकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिवहरु र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु भ्रमणमा छन्।

विमानस्थलमा बंगलादेशी विदेशमन्त्री डा अक अब्दुल मोमन, स्वास्थ्यमन्त्री जाहिद मलिक, रेलवे मन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री महमद शारियर आलम, महिला मामिला राज्यमन्त्री फजिलातुम निसा इन्दिरालगायतका मन्त्री तथा राज्यमन्त्री र बंगलादेशी राष्ट्रपति कार्यालयसँग सम्बन्धित अन्य वरिष्ठ अधिकारीहरु पनि राष्ट्रपति भण्डारीलाई स्वागत गर्न विमानस्थलमा उपस्थित रहेको द डेलिस्टार अनलाइनले जनाएको छ।

यसलगत्तै राष्ट्रपति भण्डारीले बंगलादेशी स्वतन्त्रता संग्रामका सहिदहरुलाई श्रद्धाञ्जलि अर्पण गर्न सावरस्थित नेशनल मेमोरियलमा पुगेकी थिइन्।

राष्ट्रपति भण्डारीले त्यहाँको राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानलाई धनमोन्डी३२ स्थित बंगबन्धु मेमोरियल म्युजियम पुगेर श्रद्धाञ्जलि अर्पण गरेकी छिन्।

आज दिउँसो राष्ट्रपति भण्डारी तेजगाउँमा आयोजना हुने नेशनल परेड स्क्वायर (ग्राउन्ड) कार्यक्रममा ‘गेस्ट अफ अनर’को रुपमा सहभागी हुनेछिन्। त्यहाँ उनलाई बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले स्वागत गर्नेछिन्।

राष्ट्रपति भण्डारीले बंगलादेशी राष्ट्रपति बंगबन्धुको जन्मशताब्दीको अवसरमा वक्तव्य जारी गर्नेछिन्।

आजै उनले समकक्षी राष्ट्रपति महमद अब्दुल हमिदलाई बंगभवनमा भेट्नेछिन्।

साँझ उनी स्टेट डाइनिङ हलमा हुने रात्रिभोज र सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) बिहान बंगलादेश पुगेकी छन्।

२ दिनको राजकीय भ्रमणका लागि ५४ सदस्यीय टोली लिएर आज बिहान नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत काठमाडौंबाट प्रस्थान गरेकी राष्ट्रपति बंगलादेशको राजधानी ढाका पुगेकी हुन्।

बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पुगेको तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यहाँ गएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .